२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच ८ बुदे सम्झौता [भिडियो सहित]


बुद्धवीर बाहिङ

१८ भाद्र २०७५, सोमबार  

938
Shares

काठमाडौं । माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच ८ बुँदे सम्झौता भएको छ । दुधकोशीमा बेलीब्रिज लगाउने, खरिखोलासम्म मोटरेबल सडकको ट्रयाक दुवै गाउँपालिकाले संयुक्त रुपमा गर्ने गरी ८ बुँदे सम्झौता पत्रमा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

८ बुँदे सम्झौता पत्रमा पूर्वाधार निर्माणको पक्षलाई विशेष जोड दिइएको छ । ‘माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच यस क्षेत्रको विकास पूर्वाधार निर्माणको लागि अत्यन्तै सम्भावना बोकेको र दुबै गाउँपालिकालाई उपलब्धी हासिल हुने दुधकोशीको ओर्लाङघाटदेखि खरिखोलासम्मको मोटरेबल सडक बाटोको ट्रयाक खोल्ने कार्य र सोही बाटोलाई जोड्ने ओर्लाङघाटस्थित दुधकोशीमा आवश्यक पुलको लागि सहज र भरपर्दो हुने बेलिब्रिज समेत निर्माण गरी छिटोभन्दा छिटो मोटर बाटो पु¥याउन सहमती भई हस्ताक्षर गरेका छौं’ सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रको पहिलो बुदाँमा माप्यदुधकोशी गाउँपालिका वडा नं. १, दुधकोशी ओर्लाङघाटदेखि खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. १, खरिखोला सम्मको मोटरेबल सडकबाटो ट्रयाक खोल्न र ओर्लाङघाटस्थित दुधकोशीमा बेलिब्रिज निर्माण गर्न दुवै गाउँपालिका मिली छिटोभन्दा छिटो पूर्णता दिइने उल्लेख गरिएको छ । त्यसैगरी बुँदा नं. २ मा उल्लेखित कार्यका लागि डी.पी.आर. तयार गरी सोको आधारमा निर्माण कार्य समेत शुभारम्भ गरिने उल्लेख गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/2Am7iewahCI
त्यसैगरी उल्लेखित कार्ययोजना सकेसम्म केन्द्र तथा प्रदेश सरकारसँग प्राथमिकताका साथ माग गरिनेछ भने, लागत सहभागिताका आधारमा योजना पेश गर्नु पर्ने भएमा यसैलाई प्राथमिकता दिइनेछ । तर कतैबाट स्रोत प्राप्त नभएमा दुवै गाउँपालिका मिलेर छिटोभन्दा छिटो सो निर्माण कार्य सम्पन्न गरिने कुरा बुँदा नं. ३ मा लेखिएको छ । बुँदा ४ मा यदि गाउँपालिकाको स्रोतबाट उल्लेखित कार्य योजना खर्च गर्नुपर्ने भए सम्पूर्ण खर्च रकमको ५०र५० प्रतिशतको आधारमा दुवै गाउँपालिकाले व्यहोर्ने गरी व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

बुँदा नं. ५ मा दुई गाउँपालिकाबीच सहकार्यको आधारमा गरिने उल्लेखित प्रथम योजनाको सफलतासँगै दुवै गाउँपालिकासँग सरोकार भएका भविष्यमा अन्य विकास निर्माणका योजनामा समेत सहकार्य गरिने लेखिएको छ । त्यस्तै बुँदा नं. ६ मा यो सम्झौता पत्र दुवै गाउँपालिकाको आ–आफ्नो गाउँकार्यपालिकाको बैठकबाट अनुमोदन गराई एक अर्कालाई जानकारी पठाईने छ । बुँदा नं. ७ मा यो सम्झौता पत्रको कुनै बुँदामा थपघट गर्नुपरे र कार्यान्वयनको चरणमा कुनै विवाद उत्पन्न भए दुवै पक्ष बसी आपसी छलफलमा संशोधन वा समस्या समाधान गरिने, र बुँदा नं. ८ मा सम्झौतामा उल्लेखित कुरा यसै सम्झौता बमोजिम र उल्लेख नभएका कुरा प्रचलित कानून बमोजिम हुने उल्लेख गरिएको छ ।
सम्झौता पत्रमा एक कार्यक्रमबीच दुवै गाउँपालिका अध्यक्षले सोमबार हस्ताक्षर भएको छन् । कार्यक्रममा खुम्बुपासाङल्हामु र माप्यदुधकोशी गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  ८ : २० बजे