बल्ल भयो गौरादह खुला दिसामुक्त क्षेत्र घोषणा

70 Shares

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि ७ हजार ७ सय ५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा ४ हजार ३ सय ९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुला दिसामुक्त अभियानको सहजीकरण गरेको थियो । भीआइपीहरूको नगरपालिकाको रूपमा चिनिने गौरादह झापाको दशौँ स्थानीय तहको रूपमा खुला दिसामुक्त घोषणा भएको छ । गौरादह प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलगायतका विशिष्ट व्यक्तिहरूको गृहनगर हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाकी उपाध्यक्ष मीना पराजुलीले जिल्लालाई खुला दिसामुक्त घोषणा गरी यसै महीनादेखि पूर्णसफाइ अभियान अघि बढाइने बताए । कार्यक्रममा नगरपालिका प्रमुख रोहितकुमार साहले गौरादह खुला दिशामुक्त नगर घोषणामा ढिलाइ भए पनि सरसफाइ प्रवद्र्धनमा अन्य स्थानीय तहका लागि नमूना बनाउने प्रतिबद्धता जनाए । खुला दिसामुक्त अभियानमा सहयोग गर्ने सङ्घसंस्था, निकाय र अभियानकर्ताका साथै आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने घरधुरीलाई सो अवसरमा सम्मान गरिएको थियो ।
१५ स्थानीय तह रहेको झापा जिल्लामा यही असोज २२ गते दमक र २४ गते कचनकवल घोषणा हुँदैछन् । जिल्लामा खुला दिसामुक्त घोषणा गर्नका लागि हल्दिबारी गाउँपालिका तथा भद्रपुर र मेचीनगर नगरपालिका मात्र बाँकी रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका संयोजक विनोद शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार