६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

निर्मला पन्तको बलात्कारका शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन


१५ कार्तिक २०७५, बिहिबार  

21
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ ।

महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना सङ्कलन गरी पठाएका छौँ उहाँले भने, “नमूना सङ्कलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन ।” अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उहाँले बताए । हत्याको घटनाको गहनरुपमा अनुसन्धानको कार्य अझै जारी रहेको उहाँको भनाइ छ ।

Sagarmatha

यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकेको छ । डिएनए गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो । साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार  ७ : ०३ बजे