
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले सूचना मूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरण सहित मोबाइल एप सार्वजनिक गरिएको हो ।
मोबाइलको Play Store मा गएर Thulungdudhkoshi Rural Municipality मा क्लिक गरी मोबाइलमा एप डाउनलोड गरी गाउँपालिकाको बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने छ । गाउँपालिकाको मोबाइल एपमा हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थान र आपतकालिन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ ।
अब तपाईले आफूले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधीको बारेमा सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सक्नुहुनेछ । जसको लागि मोबाइल एपको समस्या दर्तामा क्लिक गरी स्क्रिनमा लेखिए अनुसार फलो गर्दै जानु पर्नेछ । जसले गर्दा विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाको बारेमा आफ्नो धारणा राख्न सकिने छ ।
सोलुखुम्बु जिल्लाको ७ गाउँपालिकामध्ये मोबाइल एप थुलुङदुधकोशी गाउँपालिकाले सबैभन्दा पहिले सार्वजनिक गरेको हो । सोलुदुधकुण्ड नगरपालिकाले भने केहि महिना अघिनै मोबाईल एप सार्वजनिक गरेको थियो । अन्य केहि स्थानीय तहको पाश्र्वचित्र निर्माणका लागि ६ महिना अघिनै विज्ञापन गरी निर्माण कार्य भैरहेको छ । धुमधामका साथ ६ महिना अघि सूचना प्रकाशित गरी गाउँपालिकाको पाश्र्वचित्र बनाउने नेचासल्यान, माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिले अझै पाश्र्वचित्र बनाई सकेका छैनन् ।
चुनावका बेला जनतासामू २१ औं शताब्दीको कम्प्युटर र प्रविधिको भरपुर उपयोग गर्ने गरी घोषणा गरेका जिल्लाका केहि स्थानीय तहका प्रमुखहरु कुहिरोभित्र काग हराए जस्तै भएका छन् । जिल्लाको स्थानीय तहमध्ये थुलुङदुधकोशीले हरेक क्षेत्रमा अग्रणी स्थान हासिल गरेको जिल्लाबासीको भनाई छ । एकिकृत नमूना वस्ती निर्माण होस वा ५० शैय्याको दुधकोशी सामुदायिक अस्पता निर्माण । अर्गानिक भिलेजको घोषणा होस वा ईको भिलेजको रुपमा सबै वडालाई विकास गरी पहिलो वातावरणमैत्री स्थानीय तह निर्माण । सेवा प्रवाहमा उच्चतम प्रविधिको उपयोग गर्दै विद्युतीय शासन लागू गर्ने लगायतका नमूना योजना सार्वजनिक गरेसँगै तिब्र रुपमा काम भैरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
५ मंसिर २०७५, बुधबार
1.3k
Shares







