१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

सातै महादेशको अग्लो हिमाल आरोहणको अभियानमा शेर्पा बाबुछोरा




काठमाडौं । सातै महादेशको अग्लो हिमाल आरोहण अभियानमा बाबु पिके शेर्पा र छोरा सोनाम शेर्पा लागेका छन् । जलवायु परिवर्तनको असरले विश्वलाई पारेको असर र यसको न्यूनीकरणको सन्देश सहित शेर्पा बाबुछोरा आरोहण अभियानमा लागेका हुन् ।
‘यो अभियान विश्वका साढे सात अर्ब जनसंख्याले हिमाल अर्थात् पानीको स्रोत सुक्दै गएको मुद्धाप्रति सूसुचित गर्न सकिएला भन्ने प्रयासको थालनी हो । जलवायु परिवर्तनकै कारण विश्वमा प्राकृतिक प्रकोप बढ्दै गएको छ । यसबाट लाखौं मानिस वर्षेनी प्रभावित छन् । बाढी, पहिरो, खडेरी, आँधीहुरीमा परेर ठूलो जनधनको क्षति हुँदै आएको छ । कयौं प्रजातिका प्राणी तथा वनस्पति लोप हुँदै गएको विभिन्न अध्ययनहरुले देखाएको छ,’ अभियान्ता शेर्पाले भने, ‘किरा, फट्याङ्ग्रा, चराचुरुङ्गीको विनास हुँदै गएको छ । विकासका नाममा वन जंगल मासिदै गएको छ । त्यसको प्रभाव जंगली जनावर, चराचुरुङ्गी, सामुद्रिक प्राणीमा परेको छ । तिनले आहार र बासस्थानमै असर पुगेको छ । तिनले आफ्नो तरिकाले जिउनु पाएको छैन । ती प्राणी आफ्नो रैथाने क्षेत्रबाट विस्थापित हुनु परेको छ । यी सबै मानवीय गतिविधिका कारण भइरहको छ ।’

‘यी प्रत्यक्ष–परोक्ष गतिविधिका प्रभाव हिमालसँग जोडिएको छ । हिमाल पानीको स्रोत हो । हजारौं वर्षको अवधिमा जमेको हिउँ तिब्र गतिमा पग्लिदै हिमाल नांगो हुँदै गएको छ । मैले हिमाल चढ्न शुरु गर्दा ताका लगभग ४ हजार दुई सयदेखि तीन सय मिटरको उचाईमा पुगिसक्दा हिउँ प्रशस्तै देख्न पाइन्थ्यो । अब पाँच हजार ३ मिटरको हाराहारी पुगेपछि मात्र देख्न सकिन्छ । त्यो बीचको खण्ड कालापत्थर मात्र छ । हिउँ पर्ने मौसममा हिउँले छोपेपनि त्यो पग्लेर गइहाल्छ । यसको गति द्रूत हुँदा समुद्रमा पानीको मात्रा बढेर कुनै क्षेत्र डुबानमा पर्ने, कतै पानीको मुहान सुक्दै जान्छ । परिणाम तः सुख्खापनको असर विश्वका धेरै मानिसले भोगिरहेका छन्, शेर्पाले भने, ‘हाम्रो पुस्ता नै यस्ता समस्याबाट पीडित छौं भने प्रकृति विनाशको क्रम नरोकिए भावी पुस्ताको अस्तित्व के होला ? के हामी पनि डाइनोसोर जस्तो लोप हुने अवस्थामा त पुग्दैनौं ? यसरी हेर्दा एक दिन पृथ्वी नै पनि ध्वस्त नहोला भन्न सकिन्न । चिन्ता त्यहाँसम्मको हो । यो कुराले गर्दा खेरी जनचेतना जगाउन सकिएला भनेर नै हामी यो यात्रामा निस्कने तयारीमा जुटेका हौं ।’

शेर्पाले पर्यटन क्षेत्रमा काम गर्ने क्रममा संसारका धेरै देशका मानिससँग संगत गरेका छन् । मानिसको मनोविज्ञान बुझ्ने, अध्ययन गर्ने अवसर पाएका छन् । शेर्पाले डेढ दशकदेखि जलवायु परिवर्तन र त्यसले हिमालमा पारेको असरबारे जनचेतनामूलक काम गर्दै आए । उनी टे«किङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)को माउन्टेनेरिङ तथा इन्भाइरोमेण्ट विभागको संयोजक समेत छन् ।
उनले सन् २०१० र २०११ गरी दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । आरोहणका क्रममा जम्मा भएको १८ सय किलोग्राम फोहोर उठाएर ल्याएपछि आरोहण क्षेत्रमा उनको गतिलो पहिचान बनेको छ । सगरमाथाको सरसफाइमा केही साथीसँग मिलेर उनले २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोले । यही संस्थामार्फत पिके र उनको टिमले पहिलोपटक सगरमाथा सफा गरेका थिए । उनको टोलीमा २० जना सहभागी थिए । उनकै पहलमा सगरमाथाबाट आरोहणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका पाँच जनाको शव पनि तल ल्याइएको थियो । ‘यो मुद्धामा विश्वभरका मानिसको ध्यानाकर्षण होस् । वातावरण, प्रकृति र मुख्यतः हिमाल जोगाउन सबैको चासो बढोस् भनेर नै हामी बाबु–छोराले यो महाअभियानको घोषणा गरेका हौं ।’
https://youtu.be/VjEUM3Mjgmg

हिमाल बचाउँने अभियानमा निरन्तर लागिरहेको छुः सगरमाथा आरोही तथा पर्यटन व्यवसायी पिके शेर्पा

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  २ : ५१ बजे