३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

चौतर्फि आलोचनापछि बल्ल सार्वजनिक गर्यो नेचासल्यान गा.पा.ले गत वर्षको आ.व. विवरण




सोलुखुम्बु । जिल्लाको केहि गाउँपालिकाहरुले आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाईको मिति तोकि सकेका छन् । तर, नेचासल्यान गाउँपालिकाले भने बल्ल गत आर्थिक वर्षको विवरण वेभसाईट मार्फत सार्वजनिक गरेको छ । संक्षित रुपमा सार्वजनिक गरेको विवरणमा वित्तीय समानीकरण र शसर्त अनुदान रकमको विवरण एकमुष्ठ रुपमा गाउँपालिकाको वेभसाइट मार्फत सार्वजनिक गरेको हो ।
नेचासल्यान गाउँपालिका सुशासन र पारदर्शीतामा अन्य गाउँपालिकाको तुलनामा पछाडि परेको जनगुनासो छ । स्थानीय सरकार सञ्चालन एेन २०७४ को परिच्छेद-१० को दफा ७५ कारोबारको लेखा उपदफा (४) गाउँपालिका, नगरपालिका तथा वडा कार्यालयले आफ्नो आय र व्ययको विवरण प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक गर्नु पर्ने प्रावधान भए पनि महिनौं बितिसक्दा पनि गाउँपालिकाले आर्थिक विवरण सार्वजनिक गरेको छैन ।

यता सूचनाको हक सम्बन्धि नियमावलीमा प्रत्येक सार्वजनिक संस्थाले ३/३ महिनामा आफ्नो कार्यालयबाट भए गरेका काम कारवाहीको बारेमा आम नागरिकलाई सूचना दिने र सार्वजनिक स्थानमा देखिने गरी सूचना राख्ने व्यवस्था भए पनि अहिलेसम्म गाउँपालिकाले कुनै कामको जानकारी सार्वजनिक नगरेको स्थानीयको आरोप छ ।
एक स्थानीय एफ एममा गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलाले प्रदेशको मन्त्री ल्याएर सार्वजनिक सुनुवाई गर्ने बताएका छन् । अध्यक्षज्यू, गाउँपालिकाको सार्वजनिक सुनुवाई गर्न प्रदेश मन्त्रीको आवश्यकता किन पर्यो ? कुनै विशिष्ट व्यक्ति विना गाउँपालिकाको सार्वजनिक सुनुवाई हुँदैन ? भन्ने प्रश्न आम नागरिकले गरेका छन् ।
गाउँपालिकाभित्रको केहि योजना कागजी रुपमा मात्र सिमित राखिएकाले सार्वजनिक सुनुवाईमा आलटाल गरिएको नागरिकको आरोप छ । नेचासल्यान वडा नं. १ को एक विद्यालयको कम्पाउण्डलाई घेराबारको लागि ३ लाख ३० हजार रकम छुट्याईएको भए पनि त्यो विद्यालयमा घेराबारको नाममा एउटा सिन्को समेत नसारिएको स्थानीयको आरोप छ । यस विषयमा केहि दिनमा विस्तृत जानकारी दिनेछौं ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  ३ : ३१ बजे