७ असार २०८३, आइतबार | Sun Jun 21 2026

‘बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन,’ : राष्ट्रपति भण्डारी



बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताएका छन् । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिनुभएको योगदानकै कारण उहाँप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा शान्ति र कल्याण प्राप्त हुने बताएका हुन् ।

राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले बौद्ध शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्दै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्या्दित र उपलब्धिमूलक बनाउने राज्यको नीति रहेको बताए ।
उनले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गरे । राष्ट्रपति भण्डारीले बौद्ध दर्शनमा शिक्षा प्रदान गर्न, प्राकृतिक स्रोत र साधनको उपयोग गरी सामाजिक, सांस्कृतिक समृद्धि हासिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तिनलाई विश्वमा चिनाउन आवश्यक रहेको बताए ।

उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने, ओझेलमा परेका भाषा र संस्कृतिको उत्खनन गरी राष्ट्रको मौलिकतालाई अघि ल्याएर गौरवशाली राष्ट्रिय पहिचान कायम गर्न आवश्यक रहेको बताए । परम्परागत मान्यताबाट समाजलाई मुक्त गरी गतिशील मूल्य र मान्यताको स्थापना गर्न, लोकतान्त्रिक मूल्य र राष्ट्रियताप्रति सजग रही विश्व शान्तिको सम्बद्र्धन गर्दै सिङ्गो राष्ट्रको सर्वाङ्गीण विकासमा योगदान दिनसक्ने प्रतिस्पर्धायुक्त सबल र दक्ष उच्च जनशक्तिको उत्पादन गर्नुपर्ने आवश्यकतामा राष्ट्रपति भण्डारीले जोड दिए ।
राष्ट्रपति भण्डारीले मुलुकमा पटक पटकका आन्दोलन र सङ्घर्षको परिणामबाट आजको अवस्थासम्म आई मुलुकको समग्र विकास र समृद्धिका ढोका खुलेको भए पनि हाम्रा कार्यभार भने अझै पूरा भई नसकेकाले संविधानसभाद्वारा जनताको चाहना अनुरूप बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयनमा अझै चुनौती रहेको बताए । उनले आर्थिक सामाजिक रूपान्तरणद्वारा स्वाधीन, समुन्नत राष्ट्रको निर्माण गर्ने जनताको चाहना पूरा गर्न र संविधान कार्यान्वयनको बाँकी कार्यभार सम्पन्न गर्न देशभित्रका जिम्मेवार राजनीतिक दल र आम समुदायको एकता अझै आवश्यक रहेको बताउनु हँुदै यसका निम्ति सहकार्यको बाटो अवलम्बन गरी राजनीतिक स्थिरता कायम गर्नु आजको आवश्यकता हो भने ।

यसअघि राष्ट्रपति भण्डारीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा तथा प्रार्थना गरेका थिए । समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा नरेशमान बज्राचार्य र प्रा त्रिरत्न मानन्धर, पूर्व रजिष्टार डा पीताम्बरलाल यादव र तीन विद्धानलाई विशेष सम्मान गरेका थिए । कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले बौद्ध विश्वविद्यालयले बौद्ध धर्मको प्रचारप्रसारमा योगदान पु¥याउने र विश्वविद्यालयलाई अन्तराष्ट्रियस्तरको प्राज्ञिक थलो बनाउन राज्यका केन्द्रीय, प्रदेश र स्थानीय सरकारले योगदान पु¥याउनु पर्नेमा जोड दिए । उनले लुम्बिनी देवदह तिलौराकोट र रामग्रामलगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको खोज र अनुसन्धानमा बौद्ध विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने बताए ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई शान्ति र ज्ञानप्रेमीको आस्थाको केन्द्रको रुपमा विकास गर्न सरकार प्राथमिकताका साथ अघि बढेको बताए । उनले लुम्बिनी गुरुयोजना अगामी तीन वर्षभित्र सम्पन्न गर्न सरकारले ‘ग्लोबल टेण्डर’को माध्यमबाट अघि बढाउन थालेको जानकारी गराए । कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलकराम आचार्यले विश्वविद्यालयको सम्पूर्ण अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १ : १७ बजे