२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

सगरमाथा क्षेत्रमा रोकिएन पर्यटकसँग अवैध असुली गर्ने काम

कात्तिक २५ मै जिल्ला प्रशासनले पत्र काटे पनि अझै रोकिएन पैसा उठाउने काम


कुम्भराज राई

२४ मंसिर २०७५, सोमबार  

3k
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्यटकसँग कोठा भाडाबापत भन्दै अवैध रकम असुल्ने गरिएको छ । एक जना विदेशी पर्यटकबाट ५ सयको दरले अवैध रकम असुली गर्ने गरिएको हो ।
खुम्बु होटल एसोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिएको महिनाभन्दा बढी भएको छ । होटलमा बसेबापतको रकमभन्दा बाटोमा ‘बुथ’ बनाएर छुट्टै शुल्क उठाउने गरिएको छ । आधिकारिक रूपमा दर्ता नभएको संस्था खुम्बु होटल एसोसिएसनले प्रशासन र स्थानीय तहको अनुमतिबिना रकम असुली गरे पनि उनीहरू माथि कुनै कारबाही भएको छैन । उनीहरूले रकम असुली गर्नका लागि नाम्चेभन्दा माथिका क्षेत्रहरूमा बाटाबाटामा बुथ बनाएर बसेका छन् । कतिपय स्थानमा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गामा बुथ बनाइएका छन् । फुँगीटाँगा, सोमार, फेरिचे, लबुचे, दिङबोचे र गोरक्सेपमा बाटोमै बसेर उनीहरूले पर्यटकबाट पैसा असुल्ने गरको एक पर्यटन कम्पनीका पथप्रदर्शकले बताए । ‘सशस्त्र द्वन्द्वका बेला माओवादीले चन्दा उठाए झैं शुल्क उठाइरहेका छन्,’ उनले भने, ‘नदिनेलाई थर्काइन्छ ।
एउटै रुटमा पाँच ठाउँसम्म शुल्क बुझाउँदा एउटा विदेशी पर्यटकले २ हजार ५ सयसम्म तिर्नुपर्छ ।’ शुल्क उठाइएको रसिदमा ‘खुम्बु होटल एसोसिएसन’ लेखिए पनि खुम्बुक्षेत्रका होटलहरूको छाता संगठनका रूपमा नरहेको व्यवसायीहरू बताउँछन् । संस्थाको आधिकारिक व्यक्ति को हो भन्ने कुरालाई गोप्य राखिएको उनीहरूले बताए । केही युवाहरूलाई परिचालित गरी पैसा उठाउने गरिएको छ । जुन ठाउँमा पुग्यो त्यहीँका होटल एसोसिएसनको शाखाका लागि भन्दै पैसा उठाउने गरिएको हो । उठाइएको रकममध्येबाट त्यस क्षेत्रका होटलले ३० प्रतिशत पाउने र बाँकी एसोसिएसनले लिने भन्ने सुरुमा सहमति भए पनि कार्यान्वयनमा नआएपछि केही होटल व्यवसायी रुष्ट बनेका छन् । ‘यसले उल्टै हामीलाई बद्नाम बनाएको छ ।’ एक होटल व्यवसायीले नाम गोप्य राख्न अनुरोध गर्दै भने, ‘पर्यटक तर्सिएर झन् नआउने अवस्था सिर्जना भइसक्यो ।’
जिल्ला प्रशासन कार्यालयले अवैध असुलीबार सुन्ने े बित्तिकै गाउँपालिकालाई त्यस्ता काम रोक्न निर्देशन दिएको छ । गत कात्तिक २५ मै पत्राचार गरी दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको थियो । उक्त निर्देशन कार्यान्वयन भएको छैन । गाउँपालिका प्रमुख निमदोर्जी शेर्पासँग शनिबार टेलिफोन सम्पर्क हुन सकेन । उपप्रमुख टसील्हामु शेर्पासँग कुरा गर्दा उनले यस विषयमा एकपटक सुने पनि विस्तृत जानकारी नभएको बताइन् । ‘एकपटक मिडियाबाटै मैले यो कुरा थाहा पाएको हुँ,’ उनले भनिन्, ‘अहिले के भइरहेको रहेछ म बुझेर जानकारी गराउँला ।’ उनले आफू काम विशेषले राजधानी आएकाले सबै जानकारी नभएको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले यस विषयमा गुनासो आएपछि प्रशासनले परिपत्र गरकोे र गाउँपालिकाले सबै वडामार्फत जानकारी गराएपछि रोकिएको बताए ।
कान्तिपुर दैनिकबाट ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  १ : ४२ बजे