संविधान कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीद्वारा प्रेसलाई आग्रह

0 Shares

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो – “संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु ।”

उहाँले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले चाहेको बताउँदै भन्नुभयो – “कुनै राजनीतिक आग्रह र पूर्वाग्रहका कारण राष्ट्रिय एकता बिथोलिने भएमा प्रेसले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ ।”

प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उहाँले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा पे्रसले खेलेको भूमिका सराहनीय भएको पनि उहाँले बताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले श्रवजीवी पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धता प्रकट गर्दै उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक हामी कार्यान्वयन गर्छौं ।”

उहाँले पत्रकारले खवरदारी नगरेमा लामो सङ्घर्षबाट प्राप्त उपलब्धि प्रजातान्त्रिक गणतन्त्र खतरामा पर्ने भन्दै त्यसका लागि सिर्जनशील आलोचना आवश्यक हुने बताउनुभयो ।

सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न र सामान्य विषयलाई अनावश्यक रुपमा प्रचार नगर्न उहाँले प्रेससँग आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक मुद्दा पेचिलो बन्दै गर्दा प्रेसका मुद्दामा ओझेलमा पर्न नहुने बताउनुभयो ।

उहाँले आमसञ्चार नीति एवम् श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यले सङ्गठनलाई गतिशील बनाएर नयाँ भावनासहित अगाडि बढाउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनुभएका आचार्यले नयाँ परिवेशमा प्रेस सेन्टरले जनपक्षीय पत्रकारितालाई अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।

अधिवेशनको सफलताका लागि शुभकामना दिँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्डबहादुर कार्कीले जनअपेक्षाअनुसार पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले आर्थिक रुपमा सञ्चारमाध्यम सबल भएपछि मात्र पत्रकार सबल हुने भएकाले त्यसका लागि राज्यले उपलब्ध गराउने समानुपातिक विज्ञापनलाई समानुपातिक रुपमै वितरण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अधिवेशनको सफलताको कामना दिँदै शान्ति सम्झौताका साझेदार पार्टी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर संविधान कार्यान्वयनका लागि अगाडि बढेको सन्दर्भमा युनियन र सेन्टर पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यसैगरी प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस सेन्टर र चौतारीको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

छापा माध्यम राष्ट्रिय सञ्जालका महासचिव किशोर श्रेष्ठ, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव गजुरधन राई, क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउने, सामुदायिक रेडियो प्रसारक सङ्घका महासचिव गोविन्द देवकोटा र सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले अधिवेशनको सफलताको कामना गर्दै शुभकामना दिनुएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार