१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सोलुको बरडाँडा र बुढीडाँडामा टेलिकमको थ्रीजी टावर राखिने



सोलुखुम्बु । नेपाल टेलिकमले सोलुखुम्बु नेचाको बरडाँडा र देउसाको बुढीडाँडामा उच्च क्षमताको नयाँ थ्रीजी टावर निर्माण गर्ने भएको छ । थप टावरको सर्भे महाकुलुङमा पनि हुने बताएको छ ।

गत माघ १० गते सोलुखुम्बु प्रतिनिधी सभाका सदस्य सांसद हेमकुमार राई सहित प्रदेश सांसद बुद्विकुमार राजभण्डारी, नेकपाका नेता भद्रगोल किराँती लगायतले बबरमहलस्थित नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयमा पुगि सोलुखुम्बुको ल्याण्डलाईन र गुणस्तरीय मोबाइल नेटवर्कका लागि तत्काल कार्य गर्न निर्देशक अनन्तमान सिंहसँग छलफल गरेका थिए ।
सोही छलफल पश्चात् निर्देशनालयले सोलुखुम्बुका लागि माघ ११ गते नै काठमाडौबाट सहायक प्राविधिक अधिकृत राकेश गिरीको नेतृत्वमा सोलुखुम्बुको नेचाबरडाँडा, देउसाको बुढिडाँडामा थ्रीजी नेटवर्कको उच्च क्षमताका टावर निर्माण गर्नका लागि खटाएको थियो । उक्त टोलीले नेकपा सोलुखुम्बुका युवा नेता लोकेन्द्र आर.सी.को सहजीकरणमा आज (आइतबार) सर्भे सम्पन्न गरेको छ ।
प्राविधिक गिरीका अनुसार नेचाबरडाँडाको टावरले नेचसल्यान, थुलुङदुधकोशीको दक्षिणी भाग, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको क्षेत्रलाई र देउसा बुढीडाँडाको टावरले सोताङ, माप्यदुधकोशी, थुलुङ दुधकोशी र महाकुलुङ गाउँपालिकाको क्षेत्रलाई समेट्ने बताए । महाकुलुङ गाउँपालिकामा पनि चाँडै थप टावरको सर्भे हुने बताए । थ्रीजी टावर ६ महिनाभित्र निर्माण भै सञ्चालन हुने समेत प्राविधिक गीरीले बताए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ११ : ०५ बजे