पर्यटकीय चहलपहल बढ्यो

0 Shares

काठमाडौँ, १७ असोज । अनुकुल वातावरणले यतिखेर नेपालमा पर्यटकको चहलपहल बढेको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पनि यो समय विदेशी तथा आन्तरिक पर्यटक पनि घुमफिरमा निक्लिएका छन् ।

सफा र सुन्दर मौसम भएकाले हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिनका लागि विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ ।

पर्यटकीय मौसमसँगै नेपालीको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरेर धेरै विदेशी पर्यटक आउँछन् । अर्कोतर्फ चाडवाडका बेला विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) पनि उल्लेख्य सङ्ख्यामा नेपाल आउने गर्छन् । विदेशी पर्यटक तथा एनआरएनको आगमनले अहिले राजधानीसहित प्रमुख पर्यटकीय गन्तव्यका होटल भरिएका छन् ।

खासगरी काठमाडौँका ठूला तारे होटलमा विदेशी पर्यटक र एनआरएनको बुकिङ बढी छ । यो मौसममा खासगरी ठूला तारे होटल भरिभराउ हुने बताउनुहुन्छ, होटल सङ्घ नेपाल (हान) का महासचिव विनय शाहा । उहाँका अनुसार अहिले ६५ प्रतिशतको हाराहारीमा होटेल पर्यटकले भरिएको छ , अरु पर्यटकस्तरीय होटलमा पनि पर्यटकाको चहल–पहल उत्साहजनक छ ।

“मुख्य पर्यटकीय मौसम तथा चाडवाड भएकाले पनि पर्यटकको आगमन बड्दैछ, दसैँमा विदेशी एनआरएन पनि धेरै आउँछन् त्यस्तै दसैँको परम्परागत संस्कार र संस्कृति नियाल्न, मौसम सफा र खुल्ला हुने भएकाले हिमाल हेर्न पनि धेरै पर्यटक आउछन्,”–उहाँले भन्नुभयो ।

हानमा आवद्ध रहेका साना ठूला होटल तथा रिसोर्ट गरी करिब एक हजार २०० को सङ्ख्यामा छ । पर्यटकस्तरीय कोठा झन्डै ३६ हजारको हाराहारीमा छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु पर्यटक धेरै सङ्ख्यामा आएका बताउनुहुन्छ, ।

पदयात्रा, हिमाल आरोहण, संस्कृतिको अध्ययन तथा विभिन्न कार्यक्रममा भागलिन पर्यटको सङ्खया बढेको उहाँले बताउनुभयो ।

पदयात्रा पर्यटनका लागि अक्टोवर र नोभेम्बर मुख्य समय हो । दसैँ, तिहार जस्ता पर्व पनि पर्ने भएकाले दसैँको संस्कृति बुझ्न विदेशी पर्यटक आउनेगर्छन् । त्यस्तै माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ ।

अध्यक्ष रिजालका अनुसार पदयात्री पर्यटकमा बढ्दो आकर्षणले व्यवसायीमा उत्साह थपेको छ, सन् २०१४ को तुलनामा अहिले पदयात्री पर्यटक ३० प्रतिशतले बढेको छ ।
अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार मनास्लु, धौलागिरी लगायतका हिमाल तथा पिक आरोहणका लागि धेरै विदेशी पर्यटक आएका छन् । विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले चारसयभन्दा बढी आरोहीले आरोहण अनुमति लिएको बताउनुहुन्छ । तीमध्ये धेरैले मनास्लु र विभिन्न पिकका लागि अनुमति लिएका छन् ।

नेपाल पर्यटन बोर्डको विववरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको विवरण अनुसार सन् २०१५ मा अघिल्लो वर्षको तुलनामा २९.७ प्रतिशतले घटेर जम्मा पाँच लाख ४५ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटनको उपयुक्त मौसम र चाडपर्व पनिसँगै पर्ने भएकाले विदेशी पर्यटक बढी नेपाल आउन चाहन्छन् तर एयरलाइन्सको सङ्ख्या कम भएकाले उनीहरु चाहेर पनि आउन सक्दैनन् । पर्यटकका लागि होटल र कोठा पर्याप्त रहेपनि विदेशबाट आउने एयरलाईन्स कमी र सानो क्षमताका जाहाज भएकाले यो मौसममा धेरै पर्यटक आउन नसक्ने हानका महासचिव शाहाको भनाइछ ।

अहिले ठूला जहाज टर्किज एयरलाइन्स, एयर एसिया आदिले मात्र बढी पर्यटक ल्याउँछन् अन्य खाडी मुलुकबाट आउने एयरलाइन्सले बढी कामदार बोकेर आउने हुँदा पर्यटक आउन पाउँदैनन् । नेपालमा अहिले २८ वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान भर्र्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार