ओखलढुंगा, १७ असोज । काठमाण्डौबाट ओखलढुंगा र सोलुखुम्बु चल्ने यात्रुबाहक सवारीले यात्रुसँग मनपरि भाडा असुल्ने गरेका छन् । दशैंको मुखमा जिल्ला भित्रले यात्रुसँग एकतर्फ मात्र यात्रु पाउने भन्दै दोहोरो भाडा असुल्ने गरेका हुन् ।
ओखलढुंगा काठमाण्डौ जीपमा एक हजार र र बसमा ८ सय भाडा तोकिएपनि एक हजार तीन सय सम्म भाडा असुलेको पाइएको हो । काठमाण्डौको चावहीलमा रहेको काउन्टरमा ३० प्रतिशत सम्म बढी भाडा असुल्न पाउने नियम रहेको भन्दै बढी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
गुनासो आएपछि मनपरि भाडा असुलेको टिकट र सवारी समेत प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । आज मात्रै ओखलढुंगा आएका ७ ओटा यात्रुबाहक जीपबाट यात्रुसँग लिइएको तीनसय बढी भाडा फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार ५५ जना यात्रुलाई पैसा फिर्ता गराइएको हो । बढी भाडा असुलेको भेटिएमा कानुन अनुसार कारवाही हुने कार्कीले बताउनुभयो ।
यात्रुसँग बढी भाडा असुल्ने दुई ओटा जीप समेत नियन्त्रणमा लिइएको छ । अन्य पाँच ओटा जीपलाई पैसा फिर्ता गराएर छोडिए पनि ना१ज ५०१२ र ना१ज ५७७२ नम्बरको जीप भने जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखिएको छ ।
ओखलढुंगाबाट राजधानी लगायत अन्य जिल्ला जाने यात्रुसँग तोकिएभन्दा ३० प्रतिशत बढी भाडा असुल्ने गरे पनि स्थानीय प्रशासनले अनुगमन नगर्दा नियन्त्रण हुन सकेको छैन । कुनै सवारीलाई नियन्त्रणमा लिने र कुनैलाई पैसा फिर्ता गराएपछि छोड्ने प्रहरीको दोहोरो मापदण्ड गलत भएको भन्दै व्यवसायीले विरोध जनाएका छन् । प्रहरीले पैसा लिएर छोडेको र पैसा नदिने सवारी नियन्त्रणमा लिइएको आरोप समेत लगाएका छन् ।
क्षमताभन्दा बढी यात्रु राख्ने र बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी नेतृत्वको टोलीले सिद्धिचरण राजमार्गमा चल्ने ४० सवारीको अनुगमन समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीले बताउनुभयो ।
१७ आश्विन २०७३, सोमबार
7
Shares