२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

‘माउण्टेन एकेडेमीलाई विश्वकै नमूना बनाउँछु’ : अध्यक्ष शेर्पा



काठमाडौँ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (माउण्टेन एकेडेमी)का नवनियुक्त अध्यक्ष लाक्पाफुटी शेर्पाले पर्वतारोहणसम्बन्धी अध्यापन गराइने एकेडेमीलाई विश्वकै नमूना बनाउने बताएका छन् ।

एकेडेमीको आगामी योजनाबारे शेर्पाले भने, ‘मेरो सपना भनेको नै एकेडेमीलाई गुणस्तरीय बनाई विश्वकै नमूनाका रुपमा स्थापित गर्नु हो ।’ एकेडेमीलाई सात वटै प्रदेशमा विस्तार गर्ने योजनाका साथ अघि बढेको उल्लेख गर्दै शेर्पाले छिट्टै स्नातकोत्तर अध्ययन शुरु गरिने जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार हाल ‘ब्याच्लर इन माउण्टेनरिङ’ विषयमा अध्ययन भइरहेको छ । स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम स्वीकृत भइसकेकाले छिट्टै सम्बन्धन पाउनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी ४ वर्षका लागि शेर्पालाई अध्यक्षमा नियूक्त गरेको हो । उनी यसअघि प्रतिष्ठानको कार्यकारी निर्देशक भइसकेका छन् । शेर्पाले यसअघि दुई वर्ष प्रतिष्ठानको सदस्य र दुई कार्यकाल कार्यकारी निर्देशक भएर प्रतिष्ठानमा अनुभव हासिल गरेका छन् ।

पदभार ग्रहणका क्रममा एकेडेमीलाई विश्व विद्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेकी शेर्पाले सोलुखुम्बुलाई केन्द्र बनाएर सात वटै प्रदेशमा पर्वतारोहणसम्बन्धी अध्यायन गर्ने विद्यालय स्थापना गर्ने योजना सुनाए । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रतिष्ठानमा अध्यक्ष शेर्पाको नेतृत्वले पर्वतारोहणसम्बन्धी शिक्षाको गुणस्तर अभिवृद्धिले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘उहाँ (शेर्पा) पहिला पनि प्रतिष्ठानको कार्यकारी निर्देशक हुनुभएको, आफँै पनि पर्वतारोहण बुझेको पर्यटन व्यवसायी हुदाँखेरी पेशागत रुपमा पनि एकेडेमीले गुणस्तरीय नतिजा दिन्छ भन्ने मन्त्रालयको अपेक्षा छ ।’

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ५६ बजे