कानुनी रुपमा बाध्यकारी परिवर्तन”मा सहमति भयो : बेलायत

42 Shares

स्ट्रासबर्ग । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताएको छ । उहाँले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको अन्यौल अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

युरोपेली युनियनका वरिष्ट अधिकारीहरुसँग भएको छलफलका क्रममा सोमबार साँझ महत्वपूर्ण सहमति भएसँगै प्रधानमन्त्री मेले उक्त घोषणा गरेको हो । बेलायत यही मार्च २९ तारिखबाट युरोपेली युनियनबाट अलग्ग हुँदैछ ।

युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले बेलायती संसदले प्रस्तावित परिवर्तित सम्झौतामा मङ्गलबार मतदान नगर्दासम्म केही बताउन नसकिने बताए ।

“सम्झौता गर्ने वा नगर्ने छनौट बेलायतमाथि नै छ । बेलायतको बहिर्गमन बिनाअबरोध सहज रुपमा होस् भन्ने हाम्रो चाहना हो,” प्रधानमन्त्री मेसँगै फ्रान्सेली सहर स्ट्रासबर्गमा आयोजित पत्रकार सम्मेलनमा जन्करले बताए ।

तीन भागमा विभक्त पछिल्लो प्रस्तावित सम्झौताले युरोपेली युनियनको सदस्य मुलुक आयरल्यान्ड र बेलायतको प्रान्तको रुपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखेको छ ।
“आज हामीले कानुनी प्रत्याभूतिका विषयमा सहमति जनाएका छौं,” बेलायती प्रधानमन्त्री मेले भने ।

“अब हामी सबै एक हुनुपर्ने परिस्थिति तयार भएको छ । यो सुधारिएको ब्रेक्जिट सम्झौतामा समर्थन जनाउनु उचित हुनेछ । यस सम्झौताले बेलायती जनताको चाहनालाई पनि सम्बोधन गर्ने मैले विश्वास लिएको छु ।”

बेलायती सांसदहरुले मङ्गलबार मतदान गर्नुअघि उक्त प्रस्तावित सम्झौतामा अध्ययन गर्नेछन् । बेलायतले युरोपेली युनियनबाट ४६ वर्षपछि सदस्यता त्याग्दैछ र अब त्यो दिन आउन १७ दिन मात्र बाँकी छ ।

बेलायतको संसद हाउस अफ कमन्सले गत जनवरीमा प्रधानमन्त्री थेरेसा मेले गर्नुभएको प्रस्तावित ब्रेक्जिट सम्झौतालाई ठूलो मतान्तरले अस्वीकृत गरेको थियो । कुनै सार्थक परिवर्तन नभए प्रस्तावित ब्रेक्जिट सम्झौता पनि अस्वीकृत हुने सम्भावना छ ।

युरोपेली युनियनबाट बेलायत अलग्ग हुनुपर्छ भन्ने अभियानमा संलग्न नाइजल फाराजले प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गर्नुभएको पछिल्लो प्रस्तावित सम्झौता पनि उपयोगी नभएको प्रतिक्रिया दिएको छ । उहाँले ट्वीट गर्दै नयाँ प्रस्तावमा केही शब्द यताउता मात्र गरिएको बताए ।

बेलायती संसदमा मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि बेलायती संसदमा प्रधानमन्त्री मेले गरेको प्रतिबद्धता विपरीत पछिल्लो सम्झौता भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार