जलवायु न्यूनीकरणका लागि विश्वव्यापी सचेतना अभियानमा शेर्पा बाबुछोरा

126 Shares

काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान शुरु भएको छ । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ ४० वर्षिय आरोही पूर्णकुमार शेर्पा (पिके) र उनका छोरा १४ वर्षिय सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहण अभियान शुरु गरेका हुन् ।

सन् २०१० र २०११ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा क्रियाशिल छन् । शेर्पा बाबुछोराले अभियान अन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, अफ्रिकाको माउन्ट किलिमञ्जरो, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ उत्तर अमेरिकाको डेनली र दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्नेछन् ।
आरोहण सन् २०१९ को मार्च अन्तिमदेखि शुरु भई सन् २०२० मेसम्म दुई वर्षको अवधिमा सकिनेछ । अभियानको अन्तिम चरणमा सगरमाथाको आरोहण गर्ने अभियानले जनाएको छ । ताप्लेजुङका आरोही पिके शेर्पा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का कार्यसमिति सदस्य एवं वातावरण तथा माउन्टेनरिङ शाखाका संयोजकसमेत हुन ।
अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबुछोरा अभियानमा लागेको बताए । हिमाल संरक्षणसम्बन्धी सचेतना अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने सरोकारवालाले बताएका छन् । पत्रकार सम्मेलनमा टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष अघि बढिरहेको सन्दर्भमा धेरैभन्दा धेरै गतिविधि बढाई पर्यटक आकर्षण गर्नुपर्ने भएकाले पनि यस्ता अभियान सहयोगी बन्ने बताए । करीब ६ करोड खर्च लाग्ने यो सचेतना अभियानमा टान, बोर्डलगायत पर्यटन क्षेत्रका संस्था तथा व्यक्तिगतरूपमा पनि सहयोग सङ्कलन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार