‘सोलुका जनप्रतिनिधीले जनताको अपेक्षा अनुसार काम गर्न सकेनन्,’ नेकपा सचिव शेर्पा [भिडियोसहित]

  बुद्धवीर बाहिङ
1k Shares

नेकपाले गठबन्धन गरेको लामो समयपछि पार्टी एकता प्रक्रिया टुंग्याएको छ । एकता प्रक्रियासँगै सोलुखुम्बु नेकपाले पनि नेतृत्व पाएको छ । गठबन्धन गरेको करिब १७ महिनापछि नेकपाले एकता प्रक्रिया टुंग्याएको हो । पार्टी एकतापछि अब नेकपा सोलुखुम्बुको भूमिका कस्तो रहन्छ ? दुई फरक धारका पार्टीलाई एउटै मार्गमा दिशानिर्देश गर्न कत्तिको चुनौती छ ? स्थानीय जनप्रतिनिधी र पार्टीबीचको सम्बन्धका बारेका हामीले नव गठित नेकपा सोलुका सचिव गोम्बु शेर्पा ‘कञ्र्याङ’सँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको मुख्य अंश ।
नेकपा सोलुखुम्बुलाई अब कसरी लैजानु हुन्छ ?
अहिले हाम्रो पार्टी एकता भएको छ । नेतृत्वहरुको पहिलो काम भनेको हिजो दुईवटा फरक–फरक संगठन, फरक–फरक पार्टी, फरक–फरक मनोविज्ञान र फरक–फरक ईतिहासबाट आएको हुनाले सम्पूर्ण पार्टीको नेता, कार्यकर्ताहरुलाई एउटा साझा मनोविज्ञान, साझा कमिटि र साझा एकताभावको साथको अगाडि बढाउनु नै हामी नेतृत्वहरुको पहिलो भूमिका हुन्छ र त्यही ढंगले अगाडि बढाउँछौं ।
तपाईको त नेकपा सोलुखुम्बुको अध्यक्षमा दावी थियो तर सचिव हुनुभयो नी ?
यो त पार्टी केन्द्र र प्रदेशले आवश्यकता ठानेर यस्तो निर्णय गरेको हो । यो निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु । सोलुखुम्बु जिल्लामा पूर्व एमालेतर्फबाट एक जना पनि केन्द्रीय सदस्य नभएको तर पूर्व माओवादीबाट दुई/दुई जना केन्द्रीय सदस्य रहेको हुनाले कुनै पनि पार्टीको जिल्ला अध्यक्ष र जिल्ला ईञ्चार्ज चाँहि फरक–फरक पूर्व समूहबाट राख्ने भन्ने पार्टीको मूल मापदण्ड र नीति बनेको छ, त्यस अन्तर्गत अब आउने जिल्ला ईञ्चार्ज केन्द्रीय सदस्य हुने र आउने जिल्ला ईञ्चार्ज चाँहि हिजोको पूर्व समूहको हिसाबले पूर्व माओवादीबाट आउने निश्चित भएको हुँदाखेरी जिल्ला अध्यक्ष पूर्व एमालेबाट भएको हो । पार्टीले देशव्यापी रुपमा मापदण्ड बनाएर मापदण्डको आधारमा आवश्यकताको आधारमा अहिले नयाँ जिल्ला पदाधिकारी घोषणा गरेको छ । पार्टीको एकताको आवश्यकताको रुपमा मैले लिएको छु । ईतिहासमा पार्टीले दिएको एउटा महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने रुपमा मैले लिएको छु ।
सोलुखुम्बुका स्थानीय तहमा नेकपाको पदाधिकारी ८ महिनाभित्रै पूर्णता पाउँछ त ?
अहिले भर्खर जिल्ला पदाधिकारी केन्द्रले घोषणा गरेको छ । अब जिल्लाको बैठक बस्नुपर्ने हुन्छ । हामीले सफतग्रहण गर्नुपर्ने हुन्छ । फेरी जिल्लाको जिल्ला पदाधिकारी र जिल्ला कमिटिको सफतग्रहण गर्ने भन्ने जिल्लाको कुरा मात्रै हुँदैन, त्यसमा पार्टीको प्रदेशको ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष, सचिवलगायत प्रदेश पदाधिकारीहरुको पनि अनिवार्य उपस्थितिमा गर्नुपर्ने हुन्छ । त्यसमा केन्द्रको प्रतिनिधीहरुको पनि अनिवार्य उपस्थितिमा गर्नुपर्ने भएको हुँदाखेरी त्यो एउटा समय र सन्दर्भ मिलाएर प्रदेशको सर्कुलर अनुसार नव गठित जिल्लाको कमिटिको प्रथम बैठक र नेतृत्वहरुको सफतग्रहण कार्यक्रम हुन्छ, त्यो कहिले गर्ने भन्ने अहिले केहि सरसल्लाह, छलफल भैसकेको छैन ? त्यो हुन्छ । अब त्यो भैसकेपछि गाउँपालिका र वडाहरुको एकता प्रक्रिया हुन्छ । गाउँपालिका, वडाहुँदै टोलकमिटिको एकता प्रक्रिया पहिलो नम्बरमा टुंगिन्छ । टुंगीसकेपछि भोली नयाँ अधिवेशन गर्ने भन्ने त तल टोल कमिटिसम्म टुंगीसकेपछि पार्टी केन्द्रले जो एउटा कार्यविधी बनाउँछ, कार्यविधी र निर्देशनको आधारमा फेरी कार्यकर्ताबाट चुनिएर आउने नयाँ कमिटिहरु आउँछ ।

पूर्व एमालेले जनताको बहुदलीय जनवाद छोड्यो ? पूर्वमाओवादीले पनि माओवाद छोडेर एकता प्रक्रियामा आएको छ ? अब केलाई आधार मानेर जानुहुन्छ ?
हामीले केहि वाद छोडेर एकता प्रक्रियामा आएको भएपनि माक्र्सवाद, लेनिनवाद छोडेको छैनौं । माक्र्सवाद लेनिनवाद अहिले हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त भएको छ । हिजो पूर्वमाओवादीले माक्र्सवाद, लेनिनवाद, माओवाद भनेको र पूर्वएमाले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त राखेकोमा अहिलेको पार्टीले माक्र्सवाद, लेनिनवादलाई चाँहि पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गरेको छ । पूर्वमाओवादीले अंगिकार गरेको माओवाद र पूर्वएमाले अंगिकार गरेको जनताको बहुदलीय जनवादलाई एउटा बहसको विषयमा राखेको छ । यो वहस पनि पार्टी केन्द्रले एउटा व्यवस्थित ढंगले फोरम क्रिएट गरेर त्यहाँनेर फ्लोर ओपन गर्नेछ । त्यसपछि हाम्रो बहस हुँदै जान्छ । र अहिलेको लागि हामी माक्र्सवाद, लेनिनवादको मूल सिद्धान्त र आधारमा हाम्रो पार्टी अगाडि जान्छ ।
सोलुखुम्बुको स्थानीय जनप्रतिनिधीहरु छाडा भए भनेर आम नागरिकको गुनासो छ नी ? अब यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यसलाई मैले कसरी लिएको छु भने, हाम्रो स्थानीय तहको चुनावको नतिजा आउने बित्तिकै बाम गठबन्धन भयो र पार्टी एकता हुने प्रक्रिया अगाडि बढ्यो । यो प्रक्रिया अहिलेसम्म लगभग दुईवर्ष पूरा भयो । अब बामगठबन्धन हुनु, पार्टी एकता हुनु, धेरै राम्रो ऐतिहासिक काम त छदै थियो ? तर के भैदियो भने बामगठबन्धन र पार्टी एकताको प्रक्रियातिर जब अगाडि गयो, अगाडि गैसकेपछि हिजो जुनजुन पूर्व पार्टीको कमिटिहरु थियो, त्यो तत् तत् कमिटिहरु विघटनको अवस्थामा भयो । र अहिले स्पष्ट भन्दाखेरि अहिलेसम्म स्थानीय तहदेखि जिल्ला र प्रदेशसम्मको पार्टी कमिटिहरु वास्तवमा हिजो बामगठबन्धन भएदेखि अहिलेसम्म अघोषित विघठित अवस्थामा रहेको छ । यो अघोषित विघठित अवस्थामा भैसकेपछि एउटा सांगठनिक समस्याहरु सिर्जना भएको छ । कसले जनप्रतिनिधीलाई गाइडलाईन गर्ने ? र जनप्रतिनिधीहरु पनि कसको गाइडलाईनमा कसरी सञ्चालन गर्ने ? कुन कमिटिको भन्ने कुराको अस्पष्टताको बीचमा यहाँसम्म गुज्रिदै आएको छ । अब पार्टी र जनप्रतिनिधीको सम्बन्ध भनेको जहिले पनि नङ र मासुको सम्बन्ध हुनुपर्छ । अन्नोन्याश्रित सम्बन्ध हुनु जरुरी हो । पार्टी नेतृत्वको, पार्टीको, कमिटिको काम भनेको जहिले पनि के हुनु पर्छ भने जनप्रतिनिधीहरुलाई आवश्यक गाइडलाईनहरु दिने । आवश्यक नीतिगत दिशानिर्देशनहरु गर्ने । जनप्रतिनिधीहरुलाई आफ्नो काम र पार्टी नीतिको सन्दर्भमा प्रशिक्षणहरु दिने । कुनै जनप्रतिनिधीले पार्टीको नीति विपरित गरेको छ भने त्यसलाई नियन्त्रण गर्ने । तर यो दुई वर्षकोबीचमा पार्टी कमिटि व्यवस्थित नहुँदाखेरी त्यो पनि हुन सकेन ? पार्टीबाट जनप्रतिनिधीहरुलाई जुन खालको सहयोग, जुन खालको नेतृत्वदायी र जुन खालको अभिभावकीय सहयोग जनप्रतिनिधीले चाहेको हो, पहिलो नम्बरमा त्यो पाउन सकेको छैन ? त्यस मानेमा जनप्रतिनिधीहरु पनि अलि पिडित जस्तो भएको अवस्था छ । अब दोस्रो कुरा पार्टीको स्पष्ट गाइडलाइन, स्पष्ट हेण्डलिङ नभैसकेपछिको अवस्थामा जनप्रतिनिधीहरु पनि आफ्नै शुरमा जानु खोजेको अवस्थाहरु पनि छ । अब हामी त्यसलाई ट्रयाकमा ल्याउँछौं ।
सोलुको स्थानीय जनप्रतिनिधीको दुई वर्षको कार्यसम्पादन हेर्दा कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
अहिलेनै स्थानीय जनप्रतिनिधीहरुको अन्तिम मूल्याङकन गर्ने बेला भएको छैन । म चाँहि त्यो भन्छु । किनभने पार्टीले जुन अभिभाकीय भूमिका खेल्नुपर्ने हो त्यो भएन । त्यसले गर्दाखेरी जनप्रतिनिधीहरुले पनि जति परिणाम निकाल्नु पर्ने हो दुई वर्षभित्र त्यत्तिचाँहि निकाल्न नसकेको अवस्था देखिन्छ । जुन स्पिरिटमा जनप्रतिनिधीले काम गर्नुपर्ने थियो त्यत्ति मात्रामा गर्न सकेनन् । सोलुका स्थानीय जनप्रतिनिधीले जनताको अपेक्षा अनुसार काम गर्न सकेनन् भन्ने गुनासोहरु पनि आएका छन् । त्यसलाई अब हामी चाँडै सम्बोधन गर्नेछौं ।
हुने बिरुवाको चिल्लो पात भनेझै दुईवर्ष भित्र त जनअपेक्षा अनुसार काम गर्न सकेनन् भने अब चाँहि काम गर्छन् भन्ने आधार के छ ?
स्थानीय जनप्रतिनिधीबाट अबको दुई वर्षभित्र राम्रो अपेक्षा गर्न सकिन्छ भन्ने मलाई चाँहि लाग्छ । किनभने अहिलेसम्म पनि काम त भएकै छ । जनप्रतिनिधीहरुले काम नगरेको नै भन्ने लाग्दैन । तर के त भन्दाखेरी पार्टी कमिटि, पार्टी नेता, कार्यकर्ता र जनप्रतिनिधीहरुमा जुन एउटा एकताबद्ध संयोजन, कोअडिनेशनको साथ कामहरु हुनुपर्नेमा त्यो कोअडिनेशनको मात्रै अभाव हो । अब त्यो कोअडिनेशन पनि तत्काल जुटिहाल्छ । जुटिसकेपछि थप गतिमा काम हुन्छ, भन्ने विश्वास दिलाउन चाहन्छु । किनभने अब पार्टी कमिटि चाँहि केन्द्रबाट प्रदेशहुँदै जिल्लाबाट स्थानीय तहसम्म पार्टी कमिटि व्यवस्थित भैसकेपछि सबै पार्टी कमिटिले आ–आफ्नो तहको जनप्रतिनिधीहरुलाई आवश्यक सहयोग, आवश्यक मार्गनिर्देन, आवश्यक गाइडलाइन गर्नेछ । र त्यसको आधारमा जनप्रतिनिधीहरुले काम गर्नुहुनेछ । र त्यसो गर्दाखेरी परिणाम राम्रो आउँछ, निकाल्न सकिन्छ भन्ने विश्वास हो ।
सोलुखुम्बुमा नेकपाले पाएको जनमत खस्कदै जाँदैछ भन्ने जिल्लास्तरीय नेकपाकै नेताहरुले भनिरहेका छन् । नेकपाले पाएको जनमत संरक्षण गर्नको लागि तपाईको पहल के हुन्छ ?
स्थानीय तहमा जनप्रतिनिधीले काम गर्न थालेको दुई वर्ष भैसकेको छ । तर यो दुईवर्षको बीचमा व्यवस्थित ढंगले पार्टी कमिटि र जनप्रतिनिधीहरु बीचमा व्यवस्थित र योजनाबद्ध कोअडिनेशनमा काम हुनु नपाएको अवस्था छ । अब व्यवस्थित ढंगले, कोअडिनेशन भएर काम हुन्छ । अब पार्टी कमिटि, पार्टी नेतृत्व र जनप्रतिनिधीहरु बीचमा व्यवस्थित कोअडिनेशन र आफ्नो अनुभवहरु, समस्याहरुको आदानप्रदानबिना कामहरु आ–आफ्नै तरिकाले हुँदाखेरी भनेजति परिणाम अहिले निस्कनु सकेको छैन । तर अब यो व्यवस्थित ढंगले लगिन्छ । त्यसपछि त्यो परिणाम निस्कन्छ र निकालिन्छ । भन्ने मलाई लाग्छ ।
https://www.youtube.com/watch?v=P2niJi9RFbE&feature=youtu.be
अहिले कोअडिनेशन नभएको अवस्थामा अपेक्षाकृत कामहरु हुनु नसक्दाखेरी बामगठबन्धनलाई हिजो नेकपालाई मत दिने जनताहरु केहि चिन्तित हुनुहुन्छ ? र हाम्रो अपेक्षाकृत परिणाम ननिस्किने हो की भन्ने एकदम चिन्तामा हुनुहुन्छ । र त्यसलाई गम्भिरतापूर्वक बुझेका छौं । हामी अब त्यसलाई व्यवस्थित ढंगले लैजान्छौं । चुनावमा जे जस्तो जनताको माझमा हाम्रो पार्टीले प्रतिबद्धताहरु गरेको थियो, त्यो प्रतिबद्धता पूरा गर्नको लागि हामी गम्भिर छौं, जिम्मेवार छौं । जनतको अपेक्षाअनुसार काम गरेर हाम्रो जनमतलाई संरक्षण गरेर राख्छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार