२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

दुई महिनामै हिमाल आरोहणको राजश्व ५० करोड संकलन



काठमाडौँ । दुई महिनामै नेपाल सरकारले हिमाल आरोहण बापत ५० करोड राजश्व संकलन गरेको छ । संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमाल आरोहण बापत आरोहीबाट ५० करोड राजश्व संकलन भएको हो ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागिताले देशको आर्थिक विकासमा थप टेवा पुगेको छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८ सय २४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३ सय ७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३ सय ६४ सदस्य तथा ५ वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।
सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३ सय ४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र ४ नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । विभागको विवरणमा ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ ।
यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रुपैयाँ रोयल्टी जम्मा भएको छ । त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका ५ समूहका ४९, कञ्चनजङ्गमा ५ आरोही समूहका ३२ र मकालुमा ४ आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई ३÷३ आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै, जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जे्न्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।
सगरमाथा आरोहणका लागि विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल १ हजार ३ सयभन्दा बढी रहेको बताइन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ३८ बजे