समुद्री आँधी फानीको प्रभाव नेपालमा कस्तो रह्यो ? सगरमाथा क्षेत्रमा ‘दशौँ लाखको क्षति’ भएको आकलन

238 Shares

काठमाडौं । ३४ आरोहीहरू र तिनका सहयोगीहरू रहेको कञ्चनजङ्घा आधार शिविरबाट ताजा विवरण आइसकेको छैन, तर फानी आँधीको प्रभाव देखिएपछि सम्भवतः सबैभन्दा धेरै क्षति सर्वाधिक आरोहीहरू रहेको सगरमाथाको माथिल्ला शिविरहरूमा परेको प्रारम्भिक आकलन त्यहाँ रहेका एक अधिकारीले गरेका छन् । भारतको पूर्वी तटीय राज्य ओडिशामा शुक्रवार समुद्री आँधी फानी सक्रिय भएपछि पूर्वी नेपालमा हल्का तथा मध्यम वर्षा भएको थियो, भने सगरमाथा र कञ्चनजङ्घा जस्ता हिमाली भेगमा हावाहुरी र हिमपात भएको थियो ।

शुक्रवारको आँधी हुरीले गर्दा सगरमाथा आरोहणको क्रममा दोस्रो (६,५०० मिटर) र तेस्रो शिविरमा ठड्याइएका लगभग १०० त्रिपालहरूमा क्षति पुगेको नेपालको पहिलो सगरमाथा उचाइ मापन आयोजनाका क्रममा सगरमाथा आधार शिविरमा रहेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बीबीसीलाई बताए । उनले भने, “हावाहुरीले गर्दा दुवै शिविरमा गरेर सय वटा जति पालहरू उडाएको छ । हाम्रो खाना राख्ने र खाने पालहरू पनि उडाएको छ । केही पाल त फेरि प्रयोग गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुन पुगेका छन् ।”
कति क्षति भयो ?
शुक्रवारको हावाहुरीका कारण सगरमाथामा माथिल्ला शिविरमा पाल उडाउँदा वा नष्ट हुँदा दशौँ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । उनका अनुसार अब “ती पालका स्थानमा नयाँ पाल लैजानु पर्ने हुन्छ । खानेकुरा र अन्य सामान पनि नयाँ लैजानु पर्छ ।” त्यसपछि मात्रै आरोहणका कार्यक्रमहरू अगाडि बढ्छन् ।

यो वसन्त ऋतुमा ३७७ आरोहीहरूले सगरमाथा चढ्ने अनुमति लिइसकेका छन् । नुप्से, लोत्से र पुमोरी हिमाल आरोहीहरू समेत गरेर सगरमाथा आधार शिविरमा अहिले करिब ५०० आरोहीहरू रहेका छन् । तीनका सहयोगीहरू समेत गरेर आधारशिविरमा अहिले करिब २ हजार जति मानिसहरू पालमा बसिरहेका छन् ।
बाक्लो हिमपात
शनिवार दिउसोसम्म भारी हिमपात भइरहेको सगरमाथा आधार शिविरदेखि माथि पनि केही शेर्पा आरोहीहरू रहेको गौतम र अर्का एक आरोहीले बताए । समुद्री आँधी फानीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने मौसम भविष्यवाणी भएलगत्तै पर्यटन विभागले हिमाली क्षेत्रमा रहेका सबै आरोही र तिनीहरूका सहयोगीहरूलाई “सुरक्षित रहन र सुरक्षाको प्रबन्ध मिलाउन” सचेत गराएको थियो ।

सरकारले शुक्रवारदेखि पूर्वी पहाडी र हिमाली क्षेत्रमा हेलिकोप्टर उडान समेत बन्द गर्न निर्देशन दिएको थियो । सगरमाथा आधार शिविरमा रहेका पर्वतारोहण व्यवसायी एवं आरोही फुर्वा तेन्जिङ शेर्पाले भने, “करिब एक फिट बाक्लो हिउँ परेको छ । हुस्सु लागेको छ ।”
“मौसम राम्रो नभएकोले हेलिकोप्टरहरू उडेको छैनन् । माथिल्लो शिविरबाट शेर्पाहरू तल झर्ने प्रयास गरिरहेका छन् ।” शनिवार साँझ पर्नै लाग्दा त्यहाँको मौसम पनि सफा हुन थालेका तस्बिर आधार शिविरमा रहेका पर्वतारोहीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेपाली पर्वतारोही दावा स्टिभन शेर्पाले आधार शिविरमा सबै सुरक्षित रहेको र मौसम सफा हुन थालेको आफ्नो फेसबुक सन्देशमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार