आपत्कालीन अवतरणपछि विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु

Facebook Debugger

मस्को । मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन् । रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयले ६ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ । एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको बताए ।
पहिलो प्रयास विफल
ठूलो आगलागी र आपत्कालीन अवतरणको कारण अस्पष्ट नै छ । उक्त जहाज सुखोइ सुपरजेट–१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ ।
समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्कालीन सङ्केत जारी गरेका थिए । तर आपत्कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ । ‘फ्लाइटरेडार२४’ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपत्कालीन अवतरण भएको थियो ।
धावनमार्गमै आगो
रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणहरूले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ । उसको विज्ञप्तिमा आपत्कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ । संक्षिप्त विज्ञप्तिमा अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको उल्लख छ, तर घटनाको सिलसिलाको यथार्थ स्पष्ट पारिएको छैन ।
मिखाइल सेभचेन्कोले धावनमार्गमा विमानलाई आगोले छोप्दा आफू विमानभित्र रहेको र हाम फाल्न सफल भएको दाबी गरेका छन् । उनले जलिरहेको विमानबाट यात्रुहरू दौडेर भागिरहेको भिडिओ पोस्ट गरेका छन् र आफू जीवित र ठीकठाक रहेको उल्लेख गरेका छन् ।
डरले काँप्ने दृष्य
गायक क्रिस्तियान कोस्तोफले घटना प्रत्यक्ष रूपमा देखेको समाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले जहाजलाई पूर्ण रूपमा आगोले छोपेको देखेपछि विमानस्थलमा मानिसहरू डरले काँपिरहेको र अन्य उडानहरू नभएको जनाएका छन् ।
अर्का प्रत्यक्षदर्शी प्याट्रिक होर्ल्चरले बीबीसीलाई बताए अनुसार आगोको लप्काले जहाज ध्वस्त भइरहेको दृष्य हेर्दै डरलाग्दो थियो । समाचार अनुसार घटनाको अनुसन्धान शुरू गरिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ, र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Published On:  188पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार