भारतमा पाँचौं चरणको निर्वाचन शुरु, लोकसभाको ५१ सिटको मतदान हुँदै

126 Shares

भारत । भारतको संसदको तल्लो सदन लोकसभाको चुनावको क्रममा सोमवार ७ वटा राज्यमा ५१ सांसद सिटको लागि मतदान हुँदैछ । हिमाली प्रदेश जम्मू-कश्मीरदेखि मध्यप्रदेश र राजस्थानसम्मका ७ राज्यमा मतदान शुरु भएको हो ।

पाँचौ चरणको मतदानको दिन सोमवार मतदाताहरूले कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी, यूपीए गठबन्धनकी प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृती ईरानी, राज्यवर्धन सिंह राठौड र महबूबा मुफ्ती जस्ता चर्चित नेताहरूको भाग्यको फैसला गर्दैछन् । सबै ५१ सिटहरूमा ६ सय ७४ उम्मेदवार चुनावको मैदानमा छन् । यो चरणसँगै लोकसभाको ४ सय २५ सिटका लागि मतदान पूरा हुनेछ ।
पाँचौँ चरणको चुनावमा करिब ८.७५ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । ती मध्ये ४.६३ करोड मतदाता पुरुष छन्, भने ४.१२ करोड मतदाता महिला रहेका छन् । चुनावको दिन अपाङ्गता भएका र ज्येष्ठ नागरिक, र अन्य अशक्त मतदाताहरूका लागि विभिन्न सुविधाहरू रहेको भारतीय निर्वाचन आयोगका अधिकारीले जनाएको छ ।
चुनाव पर्यवेक्षण गर्ने एक संस्थाका अनुसार सोमवार चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू मध्ये १४ उम्मेदवारहरू विरुद्ध गम्भीर आपराधिक मुद्दा लागेका छन् । २८ उम्मेदवार करोडपति छन् । ती उम्मेदवारहरूको औसत सम्पत्ति करिब २.५७ करोड रहेको बताइएको छ ।
पाँचौ चरणमा सबैभन्दा धनी उम्मेदवारको सूचीमा पूनम सिन्हाको नाम सबभन्दा माथि छ । उनीसँग १ सय ९३ करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति भएको उल्लेख छ । पूनम सिन्हा समाजवादी पार्टीको तर्फबाट लखनऊ लोकसभा क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी छन् । उनले त्यो क्षेत्रमा भाजपाका वरिष्ठ नेता राजनाथ सिंहलाई चुनौती दिँदै छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार