अमेरिका-इरान तनाव : के दुई देशबीच युद्धको सम्भावना बढेको हो ?

Facebook Debugger

बीबीसी । अमेरिकाले इरानलाई ‘स्पष्ट र सोझो सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो परिचालन ‘समस्या हुन सक्ने सम्भावना र तनाव वृद्धिका केही सङ्केत र चेतावनीहरू’का कारण भएको बताएका छन् ।

बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने बताए । एक विज्ञप्तिमा बोल्टनले भने, “अमेरिकाले युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनैपनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको छ ।”
जोन बोल्टनले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका छन् । उनले थपे, “अमेरिकाले इरानसँग युद्ध चाहेको होइन । तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ ।” अमेरिकाले परिचालन गर्ने निर्णय गरेको लडाकू पानीजहाज युरोपमा एप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ । अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त भइरहेको अवस्थामा यो निर्णय आएको छ । फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहिँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव वृद्धिको सङ्केत गरेको बताए ।
अमेरिका-इरान सम्बन्ध
गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अमेरिका र अन्य राष्ट्रहरूले सन् २०१५ मा गरेको परमाणु सम्झौताबाट हात झिकेका थिए । सो सम्झौतामार्फत इरानले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्ध कम गरिएको खण्डमा आफूले परमाणु गतिविधि कम गर्ने र अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकहरूलाई निरीक्षण गर्न दिने सहमती जनाएको थियो ।
गएको महिना ह्वाइट हाउसले इरानबाट तेल किनिरहेका पाँच राष्ट्र चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीलाई आर्थिक प्रतिबन्धबाट दिइएको छुटलाई अन्त्य गर्ने बताएको थियो । सोही समयमा अमेरिकाले इरानको रिभोलुसनरी गार्ड कोर लाई विदेशी आतंककारी समूह भन्दै कालोसूचीमा राखेको थियो ।
ट्रम्पले इरानमाथि नयाँ सम्झौता गर्न दबाव दिइरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार त्यस्तो नयाँ सम्झौताले इरानको परमाणु गतिविधिका अतिरिक्त क्षेप्यास्त्र कार्यक्रम तथा मध्यपूर्वमा इरानले गरिरहेको भनिएको ’खराब व्यवहार’ पनि समेट्नु जरूरी छ । आर्थिक प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्रो छ र इरानी मुद्राको अहिलेसम्मकै ठूलो अवमूल्यन भएको छ । यसले गर्दा विदेशी लगानीकर्ताहरू इरानमा लगानी गर्न अनिच्छुक छन् भने इरानमा विरोधहरू भइरहेका छन् । इरानले अमेरिकाको आर्थिक प्रतिबन्धको जवाफ स्ट्रेट अफ होरमुज बन्द गरेर दिने चेतावनी दिएको छ । यो समुन्द्री बाटोबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुन्छ ।

Published On:  109पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार