२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

घरघरमै बालश्रमिकको सर्वेक्षण शुरु


२७ आश्विन २०७३, बिहिबार  

0
Shares

चितवन, २७ असोज । चितवनको रत्ननगर नगरपालिकाका घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न प्रक्रिया सुरु भएको छ ।

बालश्रममुक्त नगर बनाउन यहाँका घरघरमा पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न लागिएको रत्ननगर उद्योग वाणिज्य सङ्घले बुधबार जनाएको छ । रत्ननगरका करिब २१ हजार घरधुरीमा पुगेर बालबालिकाको सङ्ख्या, स्वास्थ्य अवस्था, श्रमिक बालबालिकाको सङ्ख्या तथा हालको अवस्थाबारे जानकारी लिन सर्वेक्षणको तयारी थालिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।

युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा बालश्रममुक्त नगर बनाउनका लागि नगरपालिकामा हुन लागेको सर्वेक्षणका लागि वडा नं १४, १५ र १६ मा छलफलसमेत भएको विसुरालले जानकारी दिनुभयो ।

Sagarmatha

रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बालश्रम न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै सर्वेक्षणपछि अवस्था पत्ता लाग्ने र बालश्रम न्यूनीकरणमा योजना बनाउन सहयोग मिल्ने बताउनुभयो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपककुमार कर्माचार्यले सङ्घबाट भएका गतिविधिको रेकर्ड राख्दै श्रमिक बालबालिका तथा व्यावसायिक वातावरणको अवस्था पत्ता लगाउन तथ्याङ्क सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो । तथ्याङ्क सङ्कलनपश्चात् उनीहरुलाई अवस्था र मागअनुसार परिवारमा पुनःस्थापना र उचित शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने कर्माचार्यले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासनअन्तर्गत नै सहरी अनौपचारिक बालशिक्षाअन्तर्गत एक सयभन्दा बढी रत्ननगरका बालबालिकालाई शिक्षा प्रदान गरिएको जनाइएको छ । चितवनको भरतपुर तथा रत्ननगरलगायतका क्षेत्रमा अझै करिब दुई हजार देखि तीन हजारको हाराहारीमा बालश्रमिक रहेको अनुमान छ ।

बालश्रम ऐन, २०५६ अनुसार १४ वर्ष नपुगेकालाई श्रमिकका रुपमा काम लगाउन नहुने, १४ देखि १६ वर्षसम्मका बालबालिकालाई साँझ ६ देखि बिहान ६ बजेसम्म काममा लगाउन नपाउने नियम भएपनि जिल्लामा यो लागू हुन सकेको छैन । रासस

प्रकाशित मिति : २७ आश्विन २०७३, बिहिबार  ४ : २३ बजे