१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

भारतीय निर्वाचनमा कलाकारको क्रेज : बलिउड स्टार ! को जिते, को हारे ?



एजेन्सी । यस पटकको लोकसभा चुनावमा भारतका धेरै कलाकार विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए । तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन्, भने कतिपयले हार बेहोरेका छन् ।

उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन् । उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन् ।
चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका भोजपुरी अभिनेता रवि किशन पनि गोरखपुर क्षेत्रबाट निर्वाचित भएका छन् । उनले समावजादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुदन त्रिपाठीलाई हराएका हुन् ।

आजमगढबाट उम्मेदवार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव (निरहुवा) समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन् । निरहुवा भाजपाबाट उम्मेदवार बनेका थिए ।
भाजपाका उम्मेदवार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन् । यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेदवार बनाउँथ्यो ।
गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन् । यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए । उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए ।

भोजपुरी अभिनेता मनोज तिवारीले पनि भाजपाबाट चुनाव जितेका छन् । उनी उत्तरपूर्वी दिल्ली क्षेत्रबाट चुनाव लडेका थिए । तिवारीले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका छन् ।
अभिनेत्री जया प्रदा भने यस पटकको लोकसभा चुनावमा पराजित भएकी छिन् । समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेकी जया समाजवादी पार्टीका आजम खानसँग पराजित भएकी हुन् ।

गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन् । भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन् । चुनावको केही समयअघि कांग्रेले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेदवार बनाएको थियो । चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन् ।

भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन् । उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन् । उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ४ : ४२ बजे