३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कन्हैयाले कति भोट ल्याए !



एजेन्सी । भारतीय लोकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् । भारत बिहारको बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् ।

कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भोट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भोट पाएको भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् । जित निश्चित भएपछि भाजपाका केन्द्रीय मन्त्री गिरिराज सिंहले ‘प्रधानमन्त्री मोदीले गरेको विकासकै कारण भाजपाले जितेको’ बताएका छन् ।
कन्हैया कुमारले २ लाख ६९ हजार ९ सय ७६ भोट प्राप्त गरेका छन भने उनलाइ पराजित गर्ने भाजपाका गिरिराज सिंहले ६ लाख ९२ हजार १ सय ९३ भोट पाएका छन् । त्यसैगरी बेगुसराइबाट चुनाव लडेका भारतीय नेशनल कांग्रेसका उम्मेदवार तनवीर हसनले १ लाख ९८ हजार २ सय ३३ भोट पाएर तेस्रो स्थानमा परेका छन् । उक्त चुनाव क्षेत्रबाट ४ जना स्वतन्त्र उम्मेदवार समेत गरेर १० जना उम्मेदवार यस चुनावमा रहेका थिए ।
बेगुसराइमा १२ लाख २५ हजार ५ सय ९४ भोट खसेको बताइएको छ । कन्हैयाले पाएको भोट कूल खसेको भोटको २२.०३ प्रतिशत हो भने गिरिराज सिंहले पाएको भोट कूल खसेको भोटको ५६.४८ प्रतिशत भोट हो । त्यस्तै तेस्रो स्थानमा परेका तनविर हसनले कूल खसेको मतको १६.१७ प्रतिशत भोट पाएका हुन् । कन्हैयालाइ भारतका थुप्रै कलाकार, प्रोफेसर, युवा विद्यार्थी लगायतले राम्रो सपोर्ट गरेका थिए । उनको चुनाव प्रचार प्रसारका लागि चर्चित अभिनेता कन्हैया कुमार, नायिका स्वारा भास्कर लगायतका कलाकार तथा अन्य युवा विद्यार्थीहरु भारतका विभिन्न राज्यबाट बेगुसराइ पुगेका थिए ।
राम्रो वक्ता तथा खुल्ला सोच भएका कन्हैयाले भारतीय युवा पुस्तामा ठूलो प्रभाव छोडेका छन् । भारतीय जनता पार्टी र सरकारले उनीमाथि निरन्तर देशद्रोहीको आरोप लगाएर उनलाइ खुम्च्याउन निकै प्रयत्न गरेको थियो । जवाहरलाल नेहरु विश्वविद्यालय नयाँ दिल्लीबाट पिएचडी गरेका कन्हैयालाइ देशद्रोहीको आरोपमा पक्राउ गरेर केही समय मोदी सरकारले हिरासतमा पनि राखेको थियो । यद्यपि मोदी सरकारले अहिलेसम्म उनीमाथि लगाइएको आरोप अहिलेसम्म पुष्टि गर्न सकेको छैन तर अनुसन्धान जारी रहेको बताउँदै आएको छ । कन्हैयाले विदेश जानका लागि धेरै वर्ष पहिलेदेखि राहदानी लिन खोजेका थिए तर धेरै पटक प्रयास गर्दा पनि सरकारले उनलाइ राहदानी पनि दिएको छैन ।

भारतीय राजनीतिमा ठूला कर्पाेरेट व्यापारिक घरानाहरुको हावी हुने गरेको चर्चा चलिरहँदा यसपटक कन्हैयाले पहिलो पटक क्लाउड फन्डको अवधारणामा चुनाव लडेका थिए । उनले आफ्ना समर्थक शुभचिन्तकबाट १०० रुपैयाँ उठाएर चुनावी खर्च जुटाएका थिए । कन्हैयाले चुनाव अघि भाजपाका विरुद्ध महागठबन्धनको आवश्यकता रहेको भन्दै निकै पहल गरेका थिए । सुरुमा बेगुसराइमा कांग्रेसले कन्हैयालाइ नै समर्थन गर्ने बताएको पनि थियो । तर अन्तिम समयमा भने कांग्रेसले त्यहाँ कांग्रेसले २०१४ को निर्वाचनमा समेत पराजित भएका उम्मेदवार तनविर हसनलाइ उठाएको थियो । सन २०१४ को निर्वाचनमा भाजपाले ३१ प्रतिशत मात्र भोट ल्याएको र नोवन्दी, किसानका खातामा लाख रकम हाल्दिने र करोड रोजगारी सिर्जना गर्ने मोदीका असफल कार्यक्रमका कारण भाजपाको भोट यसपटक अझ घट्ने उनको विश्लेषण थियो । तर पनि भाजपा विरुद्ध अन्य सबै पार्टीहरु मिलेर महागठबन्धन बनाएर निर्वाचन लड्नुपर्ने उनले बताएका थिए ।
कन्हैया बेगुसराइबाट उम्मेदवार बनेको चर्चा आइसकेपछि मात्र भाजपाले केन्द्रीय मन्त्री गिरिराज सिंहलाइ त्यहीबाट उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, गिरिराजले भने सुरुमा बेगुसराइ जान मानेका थिएनन । तर उनी अन्तिममा त्यहाँ पुगेका थिए । निर्वाचनका क्रममा बेगुसराइमा गिरिराजलाइ भन्दा मतदाताहरुले मोदीका लागि भोट गर्ने बताउने गरेका थिए । केन्द्रमा बलियो सरकार चाहिने र मोदीले राम्रो काम गरिरहेकोले उनकै लागि भाजपालाइ भोट दिने भन्दै धेरै मतदाताले चुनावी प्रचारप्रसारका दौरान बेगुसराइ पुगेका मिडियामा प्रतिक्रिया दिने गरेका थिए । भारतीय लोकसभाको निर्वाचनमा करिव देशभर मोदी नै एक्ला उम्मेदवारका रुपमा अघि सारिएका थिए । भाजपाका सबै उम्मेदवारले पनि मोदीकै लागि आफूलाइ भोट माग्ने गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ६ : १३ बजे