२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

बजेटले छोएन सगरमाथा क्षेत्रलाई ! पर्यटन क्षेत्र पूर्वाधार विकासमा २ अर्ब ६८ करोड,


बुद्धवीर बाहिङ

१६ जेष्ठ २०७६, बिहिबार  

133
Shares

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६÷०७७ को लागि पर्यटन क्षेत्र पूर्वाधार विकासमा २ अर्ब ६८ करोड विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० समेत घोषणा गरेको सरकारले विश्वको ध्यान आकर्षण गर्ने साहसिक गन्तव्य सगरमाथा क्षेत्रको लागि कुनै कार्यक्रम तथा बजेट भने छुट्याएको छैन ।

त्यही सगरमाथा क्षेत्रबाट सरकारले करोडौं राजस्व संकलन गरे पनि सो क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन । सरकारको कार्यक्रममा पर्वतीय पर्यटन र सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखांकन गरी पूर्वाधार निर्माण शुरु गर्ने कार्यक्रम मात्र प्राथमिकतामा परेको छ ।
‘उच्च आर्थिक वृद्धि, उत्पादक रोजगारी र आयको वितरणलाई तत्काल टेवा पुर्याउने प्रतिस्पर्धी क्षेत्रको रुपमा अथाह सम्भावना वोकेको पर्यटन क्षेत्रको विकासलाई मैले जोड दिएको छु । नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व वजारमा स्थापित गर्ने गरी नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिनेछ ।’ बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘यसका लागि पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पहिचान भएका गन्तव्यहरूको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान, विकास तथा प्रवर्द्धन गरिनेछ ।’
प्रमुख पर्यटकीय स्थानलाई माइस पर्यटन स्थलको रुपमा विकास गर्न स्तरीय सडक, ठूला सभाहल तथा सम्मेलन केन्द्र जस्ता पूर्वाधार विकासमा जोड दिईनेछ । नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटोहरू संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।
पर्यटन क्षेत्रमा सरकारको प्राथमिकता पूर्णपाठ ः
पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामिण पर्यटन, जलयात्रा पर्यटन, पर्या–पर्यटन, धार्मिक–साँस्कृतिक पर्यटन, खेल पर्यटन तथा स्वास्थ्य पर्यटन जस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गरिनेछ । सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखांकन गरी पूर्वाधार निर्माण शुरु गरिनेछ । साहसिक पर्यटनलाई विश्वको ध्यान आकृष्ट हुने गरी प्रचार प्रसार गरिनेछ । रारा क्षेत्रलाई राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकास गरिनेछ ।
मुलुकको भौगोलिक तथा जैविक विविधतालाई पर्यटन प्रवर्द्धनमा उपयोग गरिनेछ । महाभारत क्षेत्रका सम्भाव्य पर्यटकीय स्थानहरूलाई बिदा मनाउन उपयुक्त शीतल आवासको रूपमा विकास गरिनेछ । उपयुक्त स्थानमा नेपालमा भएका मुख्य धार्मिक स्थलहरुको आकृति झल्किने गरी धार्मिक पर्यटकीय स्थल निर्माण गरिनेछ ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै गुणस्तरीय र दिगो पर्यटन विकासमा जोड दिइने छ । हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्धन, ढुवानी सेवा र यातायात साधनको रुपमा केवलकार प्रयोगलाई प्रोत्साहित गरिनेछ । पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि २ अर्ब ६८ करोड विनियोजन गरेको छु ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  २ : २३ बजे