२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

निर्माणाधीन वृद्धाश्रमलाई आर्थिक सहयोग


२९ आश्विन २०७३, शनिबार  

0
Shares

फलेवास (पर्वत) २९ असोज । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल मोदीवेणी धाममा निर्माणाधीन वृद्धआश्रमलाई गैह्रआवासीय नेपाली सङ्घ बेल्जियमले सहयोग गरेको छ ।

पर्वत र छिमेकी बागलुङबाट बेल्जियममा पुगेका गैह्रआवासीय नेपालीहरुले सङ्कलन गरेको रकम वृद्धाश्रम निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।

मोदीवेणी ज्येष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठलाई शुक्रबार एक समारोहबीच रु दुई लाख ६७ हजार हस्तान्तरण गरिएको हो । बेल्जियममा रहेका हिक्मत श्रेष्ठको पहलमा उक्त रकम सङ्कलन गरिएको थियो ।

Sagarmatha

सहयोग हस्तान्तरण गर्दै सांसद अर्जुनप्रसाद जोशीले ज्येष्ठ नागरिकको हितका लागि गरेको सहयोगले पूण्यको काम गरेको बताउनुभयो । उहाँले यो सहयोगले आफूलाई समेत सहयोगका लागि प्रेरित गरेको बताउँदै आगामी दिनमा अरु सहयोग जुटाउन बेल्जियमबासी नेपालीलाई आग्रह गर्नुभयो ।

बेल्जियममा रहेका नेपालीले वृद्धाश्रमलाई अहिले सानो रकम सहयोग गरेपनि भविष्यमा यसलाई बढाउँदै लैजाने एनआरएन बेल्जियमका प्रतिनिधि गोविन्द सुवेदीले बताउनुभयो ।

धार्मिकस्थल मोदीवेणीमा अहिले पनि वृद्धाश्रम छ । तर मोदीवेणीमा कालीगण्डकी पारी बागलुङतर्फको भागमा सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण थालिएको छ । १२ कोठा रहने सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गर्न करिब रु ७४ लाख खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म मोदीवेणीमा सञ्चालिन महायज्ञबाट रु १७ लाख भन्दा बढी, महिला विकास, चन्दादाता तथा सहरी विकास तथा भवन निर्माण विभागबाट समेत गरी रु ३४ लाख सङ्कलन भइसकेको निर्माण समितिका सचिव कमलकुमार जिसीले जानकारी दिनुभयो ।

मोदीवेणीमा अहिले बृहत खानेपानी, घाट सुधार, उद्यान, बाटोघाटो, सत्संग भवन निर्माणको काम भइरहेको र १०८ धारा निर्माण सम्पन्न भएको बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७३, शनिबार  ७ : ४४ बजे