लिुख-भूसिंगा सडकमा अनियमिता

अख्तियारको अनुगमनपछि काम शुरु

Facebook Debugger

ओखलढुंगा । खिजीदेम्वा गाउँपालिकामा उपभोक्ता समितिमार्फत निर्माण तथा मर्मत गरिएका सडकमा अनियमितता भएको पाइएको छ । स्थानीयको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले अनुगमन गर्दा कामको परिमाण पुरा नगरि रकम भूक्तानी तथा फरफराक गरेको पाइएको हो ।

अख्तियारको अनुगमनपछि सोलिङ थालिएको चण्डेश्वरी-फलाटे सडक ।

अख्तियारको अनुगमनपछि काम पुरा नगरि रकम भूक्तानी लिइ फरफराक भएका दुई योजनामा फेरि उपभोक्ता मार्फत गाउँपालिकाले काम लगाएको छ । अनुगमनमा आएका अख्तियारका एक अधिकारीले टेलिफोनमा भने, ‘हामीले अनुगमन गर्दा परिमाण नपुगेको पाएका छौं, थप अनुसन्धान गरेर कारवाही अघि बढाउँछौं ।’
अख्तियारको अनुगमनपछि उपभोक्ता समिति र गाउँपालिकाले अख्तियारले अपुग काम पुरा गर्न निर्देशन दिएको भन्दै सोलिङको काम थालेका छन् । लिखु–भूसिंगा सडक निर्माण समिति र चण्डेश्वरी–फलाटे सडक स्तरोन्नति उपभोक्ता समितिले गाउँपालिकाका कर्मचारी र प्राविधकसँग मिलेर परिमाण पुरा नगरि रकम भूक्तानी तथा योजना फरफराक गरेको भन्दै स्थानीयले ०७५ भदौमा अख्तियारको इटहरीस्थित कार्यालयमा उजुरी गरेका थिए ।
अख्तियारले आयोजना स्थलको ०७५ माघ २१ गते निरिक्षण गरेपछि गाउँपालिका र उपभोक्ता समितिलाई कार्यालयमै बोलाएर बयान लिएको थियो । बयानपछि दुवै समितिहरुले अख्तियारको निर्देशन भन्दै काम थालेका छन् । अहिले समितिले अख्तियारको निर्देशन अनुसार काम शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । अख्तियारले अनुगमन गरेपछि समितिलाई काम पुरा गर्न भनेकाले काम थालेको जानकारी पाएको आचार्यको भनाइ छ ।
स्रोतका अनुसार लिखु–भूसिंगा सडकमा आर्थिक वर्ष ०७४÷०७५ को बजेटबाट ५९ लाख ५० हजार खर्च भएकोमा २ सय ५० मिटर सोलिङ कम गरेको तथा चण्डेश्वरी–फलाटे खण्डमा २६ लाख खर्च गरेकोमा १ सय २० मिटर कम काम गरेको पाइएको छ ।
लिखु भूसिंगा सडक निर्माण उपभोक्ता समितिका सचिव खड्ग सुनुवारले आफुहरुले अघिल्लो वर्ष चलाएको योजनामा अख्तियारले २ सय ५० मिटर सोलिङ गर्न भनेपछि काम थालेको बताए । पहिलोका प्राविधिकले काम पुरा भएको भनेर योजना सम्पन्न भएपनि अख्तियारले फेरि काम लगाएको उनको दावी छ । उजुरीकर्ताले भने गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै कारवाहीको लागि उजुरी दर्ता गरेको बताएका छन् । निर्माण भएको सडकमा सामान्य मर्मत गरेर ठूलो रकम हिनामिना गरेको उनीहरुको दावी छ ।
त्यस्तै चण्डेश्वरी–फलाटे खण्डमा २६ लाख खर्च भएकोमा १ सय २० मिटर सोलिङ अपुग भएको भन्दै अख्तियारले काम लगाएको समितिका अध्यक्ष टिकाराम सुनुवारले बताए । उनले स्थानीयले उजुरी किने गरेको भन्ने थाहा नभएको र रकम हिनामिना पनि नभएको दावी गरे । सडक निर्माण तथा मर्मतका लागि एकमुष्ठ बजेट विनियोजन भए पनि दुई खण्डमा बाँडेर गाउँपालिकाले दुई उपभोक्ता समिति बनाएर काम लगाएको थियो । ‘अनियमितता गर्ने उद्देश्यले नै एकै योजना दुई खण्ड बनाएर काम पुरा नगरि फरफराक गरिएको थियो, दुई सडकमा मोटो रकम हिनामिना भएको छ’ गाउँपालिकाका एक कर्मचारीले भने ।
गाउँपालिकाले एकै योजना दुई खण्ड बनाएर बाँडेर लगाएको प्रमुख प्रशासकिय अधिकृत आचार्यले पुष्टि गरे । उनले टेलिफोनमा भने, ‘यो योजना एउटै भए पनि यस अघि दुई खण्ड बनाइ मिलेर काम गरेका रहेछन्, मेरो कार्यकालभन्दा पहिलेको योजना हो ।’
स्थानीयबासिन्दाले भने मिलेमतोमा भ्रष्टाचार भएको विषयमा कारवाहीका लागि उजुरी दिए पनि अख्तियारमा समेत मिलेमतो भएको आरोप लगाएका छन् । कारवाही गर्नुको सट्टा एक वर्ष पहिलेको काम अहिले पुरा गर भनेर अख्तियारका कर्मचारी समेत मिलेको उनीहरुको आरोप छ । स्थानीय तथा नेकपाका जिल्ला सदस्य सुदिप सुनुवारले अख्तियारले अब विकास गर्न थालेछ भन्दै व्यंग्य गरे । ‘अख्तियारले काम गर्न लगाएको भन्ने सुनेको छु उसको काम प्रमाण फेला परेपछि कारवाही गर्ने हो कि, काममा लगाउने हो ?’ सुनुवारले प्रश्न गरे ।
अख्तियारको इटहरीस्थित कार्यालयका प्रमुख महेश आचार्यले अख्तियारले अुधरा काम पुरा गर्न नभनेको बताए । उनले अनुसन्धान गरेर काम कम गरेको प्रमाणित हुँदा मुद्दा चल्ने तर, काम नलगाइने बताए । उपभोक्ता समितिले आफु जोगिन काम थालेको हुन सक्ने आचार्यको भनाई छ ।
                                                   

Published On:  398पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार