१६ वर्षअघि हराएको हेलिकोप्टर भेटिएको दावी ! के भन्छन त हेलिकोप्टरका मालिक आङछिरिङ शेर्पा ? (भिडियोसहित)

  बुद्धवीर बाहिङ
889 Shares

वि.सं. २०५९ जेठ १७ गते मकालु आधारशिविरबाट ६ जना भरिया लिएर लुक्ला फर्कंदै गरेको चार्ली युनिफर्म हेलिकप्टर बिहान १० बजेतिर अचानक बेपत्ता भयो । सुरक्षा टोलीले मकालु क्षेत्रका हिमाली खोचहरूमा खोज्नुसम्म खोज्यो । न हेलिकप्टर भेटियो न त त्यसमा सवार यात्रु । ३ महिनासम्म केही पत्तो नलागेपछि नागरिक उड्डयन मन्त्रालयले हेलिकप्टर दुर्घटना भएको निचोडनिकाल्यो । खोजी बन्द भयो ।


रेस्क्यु फ्लाइटको उक्त हेलिकप्टरमा सोलुखुम्बुका वाङछु शेर्पा, निमादोर्जी तामाङ, प्रकाश कार्की, सिन्धुपाल्चोकका कर्मा तामाङ, ओखलढुंगाका प्रमोद सुनुवार, ताप्लेजुङका सार्की शेर्पा सवार थिए । ४ सदस्यीय चालक दलमा क्याप्टेन रसियन ग्रेभिनिकोभ, कोपाइलट सोलुखुम्बुका सोनाम टासी शेर्पा, फ्लाइट इन्जिनियर रसियन नागरिक ए गुमार र फ्लाइट एटेन्डेन्ट डी अमात्य थिए । १६ वर्षपछि आएर सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३, छेस्कामका चतुर कुलुङ राईले मकालु-बरुण राष्ट्रिय निकुञ्जनजिकै करिब ५ हजार मिटर उचाइमा एक पार्ट र केहि तारहरु भेट्टाएका छन् । कुलुङले हराएको हेलिकोप्टरको पार्ट भएको दाबी गरेका छन् । यसै विषयमा सगरमाथा अनलाईनका सम्पादक बुद्धवीर बाहिङ राईले हेलिकोप्टरका मालिक आङछिरिङ शेर्पासँग गरेको कुराकानीको सम्पादीत अंश ।
१६ वर्ष अगाडि हराएको एम आई १७ हेलिकोप्टरको पाटपुर्जा भेटिएको खबर विभिन्न मिडियामा आएको छ ? त्यसको बारेमा तपाईलाई जानकारी छ ?
१६÷१७ वर्षनै भयो है, हाम्रो एउटा हेलिकोप्टर मकालु वेशक्याम्पबाट उडेको । त्यहाँबाट लुक्ला आउनु पर्ने थियो । तर, कहिल्यै पनि लुक्ला पुग्न सकेन । त्यसपछि हामीले धेरै खोजीनीति गर्यौं । सबै ठाउँमा खोज्यौं । धेरै महिना खोज्यौं । हामीले कहि कतै फेला पारेनौं । २÷३ वर्ष अगाडि एउटा पार्ट कसले कहाँबाट पाएको हो ? त्यो हाम्रो हेलिकोप्टरको पार्ट हो की भनेर हामीलाई जानकारी भएको थियो । त्यही अनुरुप हामीले कम्पनीबाट हो की होइन भनेर हेर्न पठाउँदाखेरी त्यो पार्ट चाँहि सानो हेलिकोप्टरको रहेछ । हाम्रो एम आई १७ को होइन रहेछ । र अहिले भर्खरै मात्रै पनि केहि पत्रकारहरुले हेलिकोप्टरको तारहरु खोलाले बगाएर ल्याएको अवस्थामा भेटेर ल्याएको रहेछ भन्ने सुनेको छु । त्यसमा ट्याग रसियन ल्याङ्गोइजमा लेखिएको रहेछ भन्ने कुरा भैरहेको छ । अब हामीले हो की होइन भनेर त्यो ठाउँ चाँहि कहाँ हो ? तारलाई खोलाले बगाएर ल्याएको रहेछ भनेर सुन्नमा आएको छ । यो विषयमा हामी फेरी एकचोटी खोजीनीति गर्छौं ।
हेलिकोप्टर उडिसकेपछि टावरसँग अन्तिम कुराकानी उडेको कति मिनेटपछि भएको थियो ?
हेलिकोप्टर ३÷४ मिनेटपछि पनि सम्पर्क भएको थियो । त्यत्तिबेला उडिसके भनेर लुक्ला टावरलाई खबर चाँहि गरेछ । मकालु वेशक्याम्पबाट त्यस्तै १७÷१८ मिनेटमा पुग्ने हो । तर त्यो हेलिकोप्टर कहिल्यै पनि लुक्ला पुगेन पनि ! हामीले त्यो क्षेत्र सारासारा खोजी गर्यौं ।
कतिदिनसम्म खोज्नु भयो ?
हामीले महिनौं लगाएर खोज्यौं । झण्डै ३ महिनासम्म लगातार रुपमा खोजिरह्यौं । केहि पाइएन ?


हराएको हेलिकोप्टरको भेटिएको पार्टमा रसियन ल्याङ्गोइज देखियो भनेर भनिएको छ, अब त्यसलाई के गर्नुहुन्छ ?
अब त्यो सायद हुन पनि सक्छ । मेरो विचारमा त्यत्तिबेला हिमालको टुप्पोतिर ठक्कर खायो होला । त्यो ठक्कर खाएपछि, त्यो त आलमुनियमको हुन्छ ? आल्मुनियम भएर कच्याककुचुक्क भएर सानो डल्लो भएर क्रेभासतिर परेको थियो होला ? खाली अहिले मैले अनुमान मात्र गरेको हो ? त्यसको केहि पार्टहरु झर्दाखेरी त्यहाँको तारहरु खुलेर ग्लेसियर पग्लिएसँगै खोलाले बगाएर ल्याएको हुन सक्छ । तर, अहिले सुन्नमा मात्र आएको छ । अब हामी त्यो भेट्ने व्यक्तिहरुसँग भेटेर कहाँ भेट्टाएको ? कसरी भेट्टाएको ? कुन क्षेत्रमा भेट्टाएको हो भनेर विस्तृत रुपमा कुराकानी गर्नेछौं ।
अहिले त्यो पार्ट ल्याउने व्यक्तिसँग भेट भएको छैन ?
भेट भएको छैन । पहिलेको व्यक्तिसँग भेट भयो । त्यसबेला एउटा पाटा पनि ल्याउनु भयो । तर त्यो पाटाचाँहि हेलिकोप्टरको होइन रहेछ ।
अहिले पार्ट ल्याउने व्यक्तिलाई कसरी सम्पर्क गर्ने कोशिसमा हुनुहुन्छ ?
अहिले सम्पर्क गर्ने कोशिसमा छौं । मान्छेहरु लुक्लामा छ । अहिले भर्खरै मात्रै हामीले थाहा पाएको हो । उनीहरुलाई सोधेर भेट्ने कोशिस गर्नु भनेर हामीले भनिरहेका छौं ।
यदि हराएकै हेलिकोप्टरको पार्ट हो रहेछ भने कसरी खोज्नु हुन्छ ?
हामीले सरकारसँग नै सहयोग माग्ने हो । त्यसको अब बीमाको समय अवधि सकिसकेको छ । अब बीमाले कभर गर्दैन । त्यसैले नेपाल सरकारसँग सल्लाह गरेर कसरी खोज्न सकिन्छ । एक आपसमा छलफल गरेर खोजीकार्यमा लाग्नेछौं ।

के भन्छन् हेलिकोप्टरका मालिक आङछिरिङ शेर्पा ? हेर्नुहोस भिडियो !

https://www.youtube.com/watch?v=YfNumy9KYAI&feature=youtu.be

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार