‘आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो !’ : विप्लव समूह

0 Shares

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता पुष्टि भएको छ । शुक्रबार दिउँसो समूहको सेती-महाकाली व्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।


विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् । घाइते कञ्चनपुरको बेलौरी-५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । यद्यपि, उनीमाथि विज्ञप्तिमा केही उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’ साथै, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि समूहले दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार