१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लाग्यो


५ श्रावण २०७६, आइतबार  

0
Shares

काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लागेको जानकारी दिए ।

 

प्रवक्ता श्रेष्ठका अनुसार आउँदो मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास सङ्गठनको एकीकरणको टुङ्गो लगाइने जानकारी दिए ।

सङ्गठन विभागको विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, “यसअघि कुनै विभाग टुङ्याएको भन्ने कुरा अपूर्ण हो, गृहकार्य चाहिँ अध्यक्षद्वयले गरेको हो, गृहकार्य भनेको निर्णय होइन, आज गृहकार्यपश्चात् पहिलो पटक सचिवालयको बैठक बसेको हो, सचिवालयले जे टुङ्गो लगायो त्यही पार्टीको आधिकारिक निर्णय हो ।

उहाँले आज बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट निर्णयको विवरण सार्वजनिक गरिने बताए । उक्त विषय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा समेत प्रस्तुत गरिने जानकारी दिए ।

उहाँले दुई साबिक पार्टीको इन्चार्जहरुकै आधारमा इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाइएको उल्लेख गरे । राजनीतिक प्रतिवेदन भने प्रकाशनका लागि प्रेसमा गइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सो छलफलपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बामदेव गौतमले कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कतिपय जिल्लामा इन्चार्ज मात्रै र कतिपय जिल्लामा १० जनासम्म इन्चार्ज र सहइन्चार्ज तोकिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : १५ बजे