अमेरिका डराएर हो, इरानी विदेशमन्त्रीमाथि प्रतिबन्ध लगाएको

0 Shares

वासिङ्टन : संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ ।

अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ । वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ ।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी विरुद्ध पनि प्रतिबन्धहरु लगाएको थियो ।

इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो ।

तर यसैबीच तीन वटा इरानी नागरिक आणविक परियोजनालाई छुट दिन बुधबार मात्र अमेरिकाले मन्जुरी दिएको थियो । खासगरी सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतलाई विश्वासमा लिन पनि उक्त कदम चालिएको अनुमान छ ।

इरान मामिलामा कडा कदम चाल्नुपर्छ भन्ने ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने – यो ९० दिनका लागि मात्र म्याद थप गरिएको हो । हामी इरानी आणविक कार्यक्रमका बारेमा ज्यादै नजिकबाट मूल्याँकन गरिरहेका छौं ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ । तर अमेरिका र साउदी अरेबीया, इजरायल समेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्य रुपमा आणविक हतियार निर्माण गरिरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी “प्रपोगन्डा” मन्त्रीका रुपमा काम गरिरहेको बताउनुभएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीले बताएको छ ।

यसैबीच इरानी राष्ट्रपति हस्सन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएको छ । उहाँले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाईको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको छ भने ।

अमेरिकाको न्यूयोर्कमा विदेशी सञ्चार माध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ताहरु दिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भने – अमेरिकीहरु हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार