के हुँदैछ ‘मेची–काली विश्व अभियान’ मा ?

Facebook Debugger

ओखलढुंगा । सोलुखुम्बुको सोलुखुम्बु बहुमुखी क्याम्पसले क्याम्पसका नामबाट नेपाललाई विश्वमा चिनाउने अभियान थालेको छ । नेपाललाई विश्वमा चिनाउँदै गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई नि:शुल्क प्राविधिक र व्यवसायिक शिक्षा दिन मेचि–काली विश्व अभियान थालेको हो । अभियान प्रभावकारी रुपमा स्वेदश तथा विदेशमा समेत चलिरहेको क्याम्पसले जनाएको छ ।
नेपालको ७७ जिल्लाका ५ लाख व्यक्ति, ५ हजार सरकारी तथा गैरसरकारी संस्था र विश्वका २५ देशका नागरिकको सहयोगमा प्राविधिक शिक्षा र अन्य गरि जम्मा वर्षेनी ५ सय जना विद्यार्थीलाई खाना वस्नसहित निशुल्क उच्च शिक्षा दिने उद्देश्यले अभियान थालिएको क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताए । उनले अभियानको मुख्य उद्देश्य भनेको संसारकै सबैभन्दा धेरै नागरिकको सहभागितामा सञ्चालित पब्लिक क्याम्पस बनाउने र उक्त क्याम्पसमा टुरिजम् र माउन्टेनरिङ पढाइ शुरु गर्ने रहेको बताए ।
नेपालका ७७ जिल्ला र २५ देशका ५ लाख नागरिक, ५ हजार संघसंस्थाबाट न्यूनतम १ सय रुपैंया सहयोग लिएर १ अर्बको अक्षयकोष निर्माण गर्ने क्याम्पसको लक्ष्य रहेको छ । यो अभियान आगामी पाँच वर्ष चल्लनेछ । कोषको व्याजबाट ७७ जिल्लाका एक छात्र एक छात्रा गरि १ सय ५४ जनाका लागि वर्षेनी निशुल्क प्राविधिक तथा व्यवासयिक शिक्षाको कोटा समेत उपलब्ध हुने बताइएको छ । स्वेदशी र विदेशीलाई पर्यटन तथा पर्वतारोहण सम्बन्धी शिक्षा दिने नेपालकै पहिलो क्याम्पसका रुपमा स्थापित गर्दै विश्वविद्यालयका रुपमा विकास गर्न अभियान थालिएको सहायक क्याम्पस प्रमुख निरञ्जन कट्टेलले जानकारी दिए ।
उनका अनुसार अभियान शुरु भएको पाँच महिनामा असार मशान्तसम्म १ हजार २ जना व्यक्तिबाट १५ लाख ९८ हजार २ सय ९८ रुपैंया संकलन भइसकेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ३ हजार बढी व्यक्ति तथा संस्था अभियानको सदस्य बनिसकेका छन् । अहिले नेपालभर र प्रथामिकताका साथ छिमेकी जिल्लाहरुमा मेचिकाली विश्व अभियान अन्तर्गत क्याम्पसलाई ईच्छादान लिने र क्याम्पसको सदस्यता हस्तान्तरण गर्ने अभियान चलिरहेको कट्टेलको भनाइ छ ।
२०५० सालमा प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र ०२७ सालको एसएलसीका फोर्ड फष्ट आङरिता शेर्पाको पहलमा स्थापित उक्त क्याम्पसको मेचिकाली विश्व अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७५ फागुन ४ गते शुभारम्भ गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोलखुम्बु बहुमुखी क्याम्पसमा अहिले शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायमा स्नातकोत्तर तहसम्म पठनपाठन हुने गरेको छ । क्याम्पसको यो अभियान संसारभरका पब्लिक क्याम्पसका लागि नमुना र शैक्षिक आन्दोलनको कोशेढुंगा हुने ओखलढुंगा क्याम्पसका क्याम्पस प्रमुख नारायणबहादुर सैंजुले बताए ।
सोलुखुम्बुमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका संसारका अग्लामध्येका धेरै हिमालहरु रहेकाले त्यस्ता हिमाल आरोहण र पर्वतीय पर्यटन विकासका लागि पर्वतारोहसम्बन्धी विश्वविद्यालयस्तरीय औपचारिक कक्षा शुरु गर्दै क्याम्पसलाई विश्वविद्यालयका रुपमा विकास गर्ने मूल ध्येय अभियानको रहेको छ । क्याम्पसले अभियानमा साथ दिन सबैलाई अपिल गरेको छ । सहयोग गर्ने महानुभावहरुलाई सोलुखुम्बु बहुमुखी क्याम्पसका नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक सल्लेरी शाखाको बैंक खाता कल एकाउन्ट २०२००००००४०६ मा न्यूनतम एक सय रुपैंयादेखि स्वेच्छिक सहयोग गर्न अनुरोध गरेको छ ।

Published On:  164पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार