काठमाडौँ, २ कात्तिक । गणतन्त्र पेरुका लागि नेपाली राजदूत दुर्गाप्रसाद भट्टराईले लिमास्थित राष्ट्रपति प्रासादमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पेड्रो पाब्लो कुचाएन्स्की गोडार्ड समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
त्यस अवसरमा राजदूत भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट राष्ट्रपति गोडार्डको सुस्वास्थ्य तथा पेरुका जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
प्रत्युत्तरमा पेरुका राष्ट्रपतिले आफ्ना नेपाली समकक्षीको सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभएको थियो ।
ओहोदाको प्रमणपत्र पेस गरिसकेपछि आयोजित समारोहमा राष्ट्रपतिले विशेष चासोका साथ भूकम्पपछिको नेपालको विकासको अवस्थाबारे जिज्ञासा राख्दै पारस्परिक लाभका विषयमा सहकार्य गर्ने पेरुको चाहना व्यक्त गर्नुभएको नियोगले जनाएको छ ।

नेपाल र पेरुबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । चालिस वर्षको यस अवधिमा दुवै मुलुकले संयुक्त राष्ट्र सङ्घ लगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन् । राजदूत भट्टराई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि हुनुहुन्छ । रासस







