बेलायतमा निर्वाचनको मत सर्वेक्षण, कन्जरभेटिभ दललाई बहुमत !

0 Shares

काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक गरेको छ ।


बीबीसी, आईटीभी र स्काई न्युजले मतदातासँग गरेका सर्वेक्षणमा कन्जभेटिभ पार्टीले बहुमत ल्याउने देखिएको हो । बीबीसीका अनुसार, मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जरभेटिभले ३ सय ६८ स्थानमा जित हासिल गर्ने देखाएको छ । एक्जिट पोलअनुरूप परिणाम आएमा कन्जभेटिभ सन् २०१७ मा भन्दा ५० बढी स्थानमा विजयी हुनेछ ।
त्यस्तै, लेबर पार्टीले १ सय ९१ स्थानमा जित्ने मत सर्वेक्षणले देखाएको छ । लिबरल डेमोक्र्याटले १३ र स्कटिश नेसनल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणको हवाला दिँदै त्यहाँका सञ्चारमाध्यमहरूले लेखेका छन् । ग्रिन पार्टीले १ सिट र बेक्जिटले कतै पनि हासिल गर्न नसक्ने सर्वेक्षणको निष्कर्ष छ ।
सामान्यतया हरेक ४–५ वर्षमा बेलायतमा आमचुनाव हुनेगर्छ । तर गत अक्टुबरमा सांसदहरूले मतदानको माग गरेपछि बिहीबार त्यहाँ आमचुनाव भएको हो । युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने विषय निर्वाचनको मुख्य एजेन्डा बनेको छ । चुनावको नतिजा आज मध्याह्नसम्ममा आइसक्ने बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार