३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरुबीच समान मत आवश्यक’



काठमाडौँ, २ कात्तिक । राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबै दलबीच समान मत हुनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक गोष्ठीका वक्ताले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए ।

सुरक्षा नीति र परराष्ट्र नीतिको विषयमा कुनै पार्टी, वाद, सिद्धान्त र विचारभन्दा माथि उठेर सबैको साझा नीतिका रुपमा समृद्ध गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

Sagarmatha

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले यसअघिको केपी ओली नेतृत्वको सरकारको पालामा मन्त्रिपरिषद्बाट राष्ट्रिय सुरक्षा नीति पारित गरी राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिँदै त्यसमा सबै दलको समर्थन रहेको टिप्पणी गर्नुभयो ।

उहाँले नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशील सिद्धान्तका आधारमा विदेश नीति तय गर्नुपर्ने जोड दिँदै त्यसबाट दायाँबायाँ जान नहुने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले राष्ट्र स्वाधीन नबनेसम्म जनता सार्वभौम हुन नसक्ने बताउँदै विगतमा भारतसँग भएका असमान सन्धि, सम्झौताको खारेजी प्रक्रिया अघि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।

उहाँले विदेश नीत र सुरक्षा नीतिका विषयमा पार्टीभन्दा माथि उठेर सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

मधेसी जनअधिकार फेरम नेपाल (लोकतान्त्रिक)का सांसद जितेन्द्र देवले नेपालको सुरक्षाको सन्दर्भमा राष्ट्रिय एकता, न्यूनतम सैनिक शक्ति र आर्थिक विकासका तीन विषयलाई एकसाथ लैजानुपर्ने सुझाव दिनुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले आर्थिक, सामाजिक विकासबाट राष्ट्रिय सुरक्षाको समृद्धि र असल परराष्ट्र नीतिबाट अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनुपर्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले दलबीच सुरक्षा र परराष्ट्र सम्बन्धका विषयमा साझा धारणा बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा परिषदको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका संयोजक विश्लेषक विधान आचार्यले ‘नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १ : ५५ बजे