देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

0 Shares

काठमाडौं । पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।


बीसीसी उर्दूका अनुसार उच्च अदातलका इस्लामाबादस्थित अदालतका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो । उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो । सङ्कटकाल घोषणा गरेर उनले संविधान निलम्बित गरिदिएका थिए ।
यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो । पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ । डन पत्रिका लेख्छ ‘उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।’

मुशर्रफले के गरेका थिए ?

मुशर्रफ सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका थिए । कारगिल युद्धमा सेनाको संलग्नताको विषयले तत्कालीन प्रधानमन्त्री नवाज शरिफ र मुशर्रफबीच विवाद उत्पन्न भयो । त्यसपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो हातमा लिए ।
उनले सन् २००७ नोभेम्बर मा सङ्कटकाल लगाएर संविधान निलम्बित गरिदिएका थिए । त्यसैले उनलाई मुद्दा चलाइएको थियो । मुद्दा चल्दाचल्दै मुशर्रफ सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका थिए ।
उनको अहिले त्यहाँ उपचार भइरहेको छ । केही दिनअघि उनले एउटा भिडिओ सन्देश पठाएर आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै मुद्दा हेरिरहेको निकायलाई आफ्नो स्थिति हेर्न आउन आग्रह गरेका थिए ।


संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दाबारे टिप्पणी गर्दै उनले आफूविरुद्ध लागेको आरोपको खण्डन गरेका थिए । ‘मैले यो देशका धेरै सेवा गरेको छु, युद्ध गरेको छु,’ उनले भनेका थिए ।
मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए । सत्तामा हुँदा हत्याका प्रयासहरू भए पनि उनी जोगिए । अमेरिकामा २००१ को सेप्टेम्बर ११ मा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा कारबाही गर्न पाकिस्तानको सहयोग लियो । त्यसबाट मुशर्रफ बलियो बने ।
सन् २००८ मा निर्वाचनमा पराजित भएपछि राजीनामा गरेर उनी चार वर्ष निर्वासनमा गए । चार वर्ष लन्डन र दुबईमा निर्वासनमा बसेर सन् २०१३ मा निर्वाचनमा सहभागी हुने उद्देश्यसहित उनी नाटकीय रूपमा पाकिस्तान फर्किए । तर उनको निर्णय प्रत्युत्पादक प्रमाणित भयो ।
उनलाई निर्वाचनमा उठ्न दिइएन । उनको अल पाकिस्तान मुस्लिम लीगले नराम्रो पराजय भोग्नुर्पयो । उनी देशद्रोहको मुद्दाको सुनुवाइमा जम्मा दुई चोटि उपस्थित भए। उनी एप्रिल २०१४ मा इस्लमाबादबाट कराची सरे । त्यसको दुई वर्षपछि उनी दुबई गएका थिए ।

कसरी भयो निर्णय ?

द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको हो । द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए ।
सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए । यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने द एक्सप्रेस ट्रिब्यूनले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार