काठमाडौं आइपुग्यो चिनियाँ उच्च अधिकारीको टोली

काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको ४ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।

चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा ४ दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।

नेता यचौ २०७४ फागुनमा पनि नेपाल आएका थिए । यचौको भ्रमण भएको ३ महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

नेकपा उच्च स्रोत भन्छ, ‘नेकपामा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौको नेपाल भ्रमण भएको हो ।’

यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।

तर चीनले चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी छैन भन्ने स्पष्ट सन्देश दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार