४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण


१२ चैत्र २०७७, बिहिबार  

7
Shares

चितवन । चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं। १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जनाएको छ ।

कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो ।

Sagarmatha

कलेजका विषेशज्ञ चिकित्सकहरू डा। सञ्जय यादव, डा। एकानन्द सिंह, डा। किरण अधिकारी, डा।बरुण श्रेष्ठ, डा। सागर पौडेल, डा। नवीन यादव, डा। सुरेश गौतम, डा। विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा। निरज गोयल, डा। अरुणकुमार, डा। सञ्जीव अनिजा लगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

चिकित्सकका अनुसार लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन ।

बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सक बताए ।

करिब १ वर्ष अघिदेखि काठमाडौंमा कलेजोसम्बन्धी नियमित जाँच गर्दै आएकी धनकुमारी लामाको ‘क्रोनिक लिभर डिजिज्’को कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो ।

हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ ।

शल्यक्रियामा आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय चितवनले उपलब्ध गराएको थियो ।

विगत केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति, कलेजो रोगको उपचार तथा प्रत्यारोपण सम्वन्धी विषेशज्ञहरुको व्यवस्थापन गरेको थियो ।

प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सकहरु छन् ।

कलेजो प्रत्यारोपणमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ।
कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी रोगको उपचार र प्रत्यारोपणका लागि दक्ष जनशक्तिको टिम तयार भैसकेको बताए ।

केही वर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विषेशज्ञ चिकित्सकबाट हुँदै आएको छ । कलेजले प्रत्यारोपणका लागि अलग्गै शल्यक्रिया कक्ष र आईसीयू तयार गरेको छ ।

‘राजधानी बाहिर नै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गराउन सफल भएकोले राजधानी जानुपर्ने बाध्यताको अन्त्य पनि हुँदैछ, चितवनलाई कलेजो प्रत्यारोपणको हव बनाउने हाम्रो प्रयासको सुरुवात भएको छ,’ प्रा। डा। न्यौपाने भने, ‘यसले राष्ट्रियरूपमा नै सकारात्मक सन्देश, कलेजोका बिरामीलाई जीवनप्रतिको भरोसा एवम् नयाँ आशाको सञ्चार गराउने विश्वास हामीले लिएका छौं ।’

कलेज प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । सरकारले कलेजो प्रत्यारोपण गराउने बिरामीलाई सरकारले केही सहयोग गरे अझै सस्तोमा गर्न कलेज तयार रहेको डा। न्यौपानले बताए ।

उनले कानुनी जटिलताहरुलाई फुकाउँदै सहज बनाएर केही सहयोग गरे प्रत्यारोपणको दर नेपालमा नै बढाउन सकिने डा। न्यौपाने बताउँछन् । उनले केही समयपछि कलेजले १५ लाख भित्र नै प्रत्यारोपण सेवा दिने बताए ।

यो रकम भारतमा प्रत्यारोपण गराएको भन्दा निकै कम भएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले दाबी गरे । ‘नेपालभित्र नै भएकोले फलोअपमा आउँदासमेत भारतमा जानुभन्दा कम खर्च हुन्छ, सहज पनि भयो,’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने, ‘स्वदेशी जनशक्ति, सस्तो रकम र निरन्तरको फलोअप हुने भएकोले यसबाट बिरामीलाई फाइदा हुने विश्वास लिएका छौं । ‘

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : ३५ बजे