सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या सोलुखुम्बुमा ५ सय १५ पुगेको छ ।

बुधबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको हो । बुधबार जिल्लाको विभिन्न स्थानको १ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा थप ३७ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेहरुमा १६ जना महिला र १४ जना पुरुष छन् ।
सोलुदुधकुण्ड नगरपालिकामा ७२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना, महाकुलुङ गाउँपालिकामा ४२ जनाको एन्टिजेन गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै माप्यदुधकोशी गाउँपालिकामा ६ जनाको एन्टिजेन गर्दा १ जनामा, नेचासल्यान गाउँपालिकामा २२ जनाको एन्टिजेन गर्दा ६ जनामा र खुम्बु पासाङल्हामु गाउँपालिकामा ८ जनाको एन्टिजेन गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सम्बन्धित पालिकाको स्वास्थ्य शाखाका प्रमुखले बताएका छन् ।







