काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका उपसभापति चन्द्र खालिङको संयोजनमा माप्य दुधकोशी गाउँपालिकाका ७२ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

माप्य दुधकोशी गाउँपालिका स्थायी ठेगाना भई काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो । दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)लाई रोकथाम गर्नका लागि सरकारले निषेधाज्ञा लब्याईरहेकाले अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको उपसभापति एवं राहत वितरण संयोजक खालिङले बताए ।
‘उपत्यकाका विभिन्न कलेज, क्याम्पस र विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको अभिभावकको गाउँमा पैसा भएपनि ५० हजारभन्दा बढि पैसा राख्न र झिक्न नपाईने भएकाले माप्य दुधकोशी गाउँपालिकाका अधिकांश विद्यार्थीहरु समस्यामा परेका छन् ।’ सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुका नेता सांग खालिङले भने, ‘यस्तो परिस्थितिमा स्थानीय तहले हेर्नुपर्ने हो । तर, दोस्रो लहरको कोरोनाका कारण निषेधाज्ञा जारी भएको दुई महिना पुग्न लाग्दा पनि केहि सहयोग गरेको छैन ।’

सम्पर्क समितिको उपसभापति समेत रहेका चन्द्र खालिङले माप्य दुधकोशी गाउँपालिकाका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरु ३ सय भन्दा बढि अति समस्यामा परेकाले व्यक्तिगत रुपमा पैसा उठाएर राहत वितरण गरिएको बताए । ‘हामीले सम्पर्क समितिबाट राहत वितरण गर्ने निर्णय गरेका थियौं । तर, सम्पर्क समितिले दिने राहत कोटामा हाम्रो माप्यका अति समस्यामा परेका धेरैलाई राहत नपुग्ने भएकाले हामी आफैले व्यक्तिगत रुपमा पैसा संकलन गरेका राहत वितरण गरेका हौं ।’ संयोजक खालिङले भने, ‘अझै एक सय जनाभन्दा बढि श्रमिक र विद्यार्थीहरु राहतको पर्खाईमा छन् । हामी उहाँहरुलाई पनि राहत वितरण गर्नको लागि छलफल गरिरहेका छौं ।’
यसअघि पनि सम्पर्क समितिले माप्य दुधकोशी गाउँपालिकाका ८८ घरपरिवारलाई राहत वितरण गरिसकेको छ । अहिलेसम्म माप्य दुधकोशी गाउँपालिका स्थायी ठेगाना भई काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका १ सय ६० श्रमिक र विद्यार्थीले राहत पाइसकेका छन् । अझै १ सयभन्दा बढि श्रमिक र विद्यार्थी राहतको पर्खाईमा बसिरहेका छन् ।

व्यक्तिगत रुपमा आर्थिक सहयोग गरी राहत दिनेमा माप्य दुधकोशी गाउँपालिका वडा नं. २ स्थायी ठेगान भई हाल स्वीजरयाण्ड बस्दै आएका समाजसेवी प्रश्न खालिङ, सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता सांग खालिङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्की, ढलबहादुर मगर, दिप थापामगर, उत्रबहादुर खालिङ, सम्पर्क समिति कोषाध्यक्ष नविन कार्की, सदस्य विनोद राई, आशबरी राई, भिम विक, युवराज घिमिरे, राजेश मगर, अमर मगर, चन्द्र राई, सोमबहादुर राई, प्रदिप राईको व्यक्तिगत सहयोगमा राहत वितरण गरिएको संयोजक खालिङले बताए ।
यो पनि पढ्नुहोस ।
सम्पर्क समितिद्धारा माप्य दुधकोशीका ८८ घरपरिवारलाई राहत वितरण [भिडियोसहित]








