जीवनशैलीमा बोधिचित्त

861 Shares

समाजमा विभिन्न किसीमका विश्वास र मान्यताहरु बोकेका मानिसहरु बस्छौ । हामी एक अर्का विश्वास र मान्यतालाई आदर गर्छौ र कुराहरु पनि सुन्ने गर्छौ । कोही मानिसहरु धर्म मान्ने हुन्छ्न भने कोही नास्तिक हुन्छन । कोहि हिन्दु धर्मलाई आफ्नो धर्म र मान्यताको रुपमा लिनु हुनुहुन्छ होला त कोहि बौद्ध र कोहि मुस्लीम वा कृस्चियन हुनुहुन्छ होला । यी बिभिन्न धर्म वा मान्यताहरुमा केहि साझा मान्यताहरु रहेको छन भने केही कुराहरुमा भिन्न मात्यताहरु रहेको छ ।

लेखक: गिताबहादुर श्रेष्ठ

यस लेखमा बोधिचित्तको अबधारणालाई प्रस्तुत गर्ने प्रयास गरेको छु । बोधिचित्तको अवधारणा बौद्ध मार्गीहरुमा प्रचलित अवधारणा हो । विशेष गरेर नेपाल, जापान, चिन, मंगोलिया, दक्षिण कोरिया, तिब्बत लगायत देशमा प्रचलित महायान बौद्ध मतमा धेरैनै महत्व राख्ने अवधारणा हो । हरेक महायानी गोन्पाहरुमा बोधिचित्तको चर्चा हुन्छ भने बौद्धमार्गीहरु बोधिचित्तलाई जीवनशैलीकै रुपमा अंगाल्न हर तरिकाबाट लागी रहन्छन् ।

म एक सामान्य बौद्धधर्मको जानकार व्यक्ति यस महान बोधिचित्तको अबधारणालाई स्पष्ट पार्नसक्ने क्षमतानै ममा कहा छ र तै पनि मेरो यो सामान्य बुझाइले पनि मानिसहरुलाई सहयोग पुग्लाकी भन्ने हेतुले यी शब्दहरु यस लेखमा उतार्ने प्रयास गरेको छु । यी लेख बिभिन्न बौद्ध ग्रन्थहरु अध्ययनको क्रममा मेरो बुझाइलाई यहा उतार्ने प्रयास गरेको छु ।

सम्पुर्ण सत्व वा प्राणीहरुलाई दुःखको सागरबाट मुक्त गराउछु भन्ने दृढ र बलियो चित्त नै बोधिचित्त हो । यसलाई पालन गर्ने मानिसनै बोधिसत्व हो भने उसले गर्ने हरेक कार्य वा कर्महरु बोधिचर्या हो । सत्वहरु भन्नाले सम्पुर्ण जगतको प्राणीहरु भन्ने हुन्छ । यसको मतलव मानिस लगायत पशुलोकका सत्वहरु, देवलोकका सत्वहरु, नरकलोकका सत्वहरु, असुर, प्रेत लगात प्राणीहरु पर्दछ ।

बेधिचित्त अंगालेका व्यक्तिले सम्पुर्ण जगतको प्राणीहरुको खुसि र हितको लागी मात्र आफ्नो कर्म वा चर्या गर्छन । बोधिसत्वहरुको मन मैत्रि, करुणा, मुदिता र उपेक्षाले युक्त हुन्छ । यहा मैत्री भन्नाले सबैमा मित्रवत ब्यबहार, करुणा भन्नाले दुःख पाएको प्राणीहरु प्रति तिब्र दया र स्वार्थरहित सहयोगको भावना हो भने मुदिता भन्नाले अरुको खुसीमा आफु पनि खुसी हुनु हो। उपेक्षा भन्नाले सबै प्राणीहरुमा समानताको आखाले हेर्ने मनको अबस्था हो या भनौ म र मेरो भन्ने भावना भन्दा पनि सम्पुर्ण प्राणीहरुको हितमा कुनै भेदभावरहित भएर कार्य गर्नुनै बोधिचित्तयुक्त कर्म हो। बोधिचित्त भएको मानिसहरु अरुको प्रगतिमा जहिले पनि खुसी हुन्छन् र सहयोग चाहेको बेला सहयोग गर्न सकु भन्ने भाव राख्छन्। बोधिचित्त ग्रहण गरेका मानिसहरु दान, शिल, विय(उत्साह) , क्षान्ति (क्षमादिने र क्षमा माग्ने),ध्यान र प्रज्ञाले युक्त हुन्छन्। बोधिचित्तले युत्त कर्मले यस लोकमा हुदा खुसी त ल्याउछननै यसका साथै परलोकमा पनि हित हुने कुरा बौद्ध शिक्षामा उल्लेख गरेको पाइन्छ।

बोधिचित्त पालन गर्ने मानिसहरु प्राणीहरुको हत्या, चोरी ब्याभिचार जस्ता शरिरबाट गर्ने अकुशल काममा लाग्दैनन भने मनबाट गर्ने अकुशल कर्महरु इश्र्या, लोभ र घृणाबाट पनि टाढा हुन्छ । बोधिचित्त भएका मानिसहरु बचनबाट गरिने नराम्रो काम भनेको झुटो बोल्ने, कडा बोल्ने, कुरा लगाएर फटाउने, नचाहिने बिषयमा गफिने आदिमा संलग्न हुदैनन् । सत्य बोल्ने, नरम बोल्ने, राम्रो कामको प्रसंसा गर्ने, चाहिदो मात्र बोल्ने, प्राणीहरु प्रति करुणा राख्ने, दिएको मात्र लिने, ब्यबिचार नगर्ने, अरुको खुसीमा उत्साही हुनु, दानको अभ्यास गर्नु, सबैमा मित्रवत ब्यावाहार जस्ता कामहरुमा लागेमा बोधिचित्तको अभ्यास हुन जान्छ । यसलाई हामीले पनि जीवनको आधारभुत मान्यता बनाएमा जीवनमा पक्कै पनि खुसि खोज्न टाढा जानु गर्दैन।

सेवानै धर्म हो भन्ने प्रचलित भनाइ त हाम्रो समाजमा छदै नै छ । यहि सेवा भावलाई कुनैपनि आशा नराखि लोभ, घृणा र अज्ञानले मुक्त भएर प्राणीहरुको सेवा गर्नु नै बाधिचित्त सहितको सेवा हुन पुग्दछ। हामीले जे जति पनि शरिर, मन र बोलीबाट कामहरु गर्दछौ ति सबै कामहरुले प्राणीहरुको हित होस र उनिहरुलाई दुःखमा सदा सहयोग गरि दुःखबाट मुक्त गराउन सकु भन्ने भावना सहित गरिने काम वा कर्मनै बोधिचित्त सहितको कर्म हो ।

हामी बिभिन्न स्वभाव र बानी भएका मानिसहरुसंग उठबस गर्नुपर्ने हुन सक्छ । मानिसहरुको संगत गर्दा बोधिचित्तले युक्त स्वाभाव भएको मानिससंग संगत गर्दा त सुनमा सुगन्ध हुन्छनै तर कहिलेकाही लोभ, क्रोध, इश्र्या, डाहले युक्त मानिसहरुसंग पनि संगत गर्नु पर्ने हुन्छ, त्यस्तो अबस्थामा यिनिहरुको त्यो नकरात्मक स्वभावले तपाई भित्रको बोधिचित्तलाई नष्ट गरिदिन सक्छ त्यसैले यस्तो अबस्थामा आफुलाई सधै सजक राख्नु पर्दछ र बोधिचित्तलाई संरक्षण गरिनु पर्दछ।

बोधिचित्तले युक्त मानिसहरु आफुलाई कुभलो चिताउनेहरु प्रति पनि सधै करुणाको भाव राख्दछ । उनिहरु प्रति घृणाको भाव जगाउदैन । ति सत्रुहरु पनि क्षणिक रिस र घृणाले युक्त भएर यो ब्यवहार देखाएको हो र उ भित्र पनि बोधिचित्तको बिउ छ खाली केहि क्षणको लागी ढाकेको मात्र हो भनि करुणा भाव राख्दछ।

यी माथीका कुराहरु भन्दै गर्दा हामी कतिलाई त लाग्दो हो कि यो त बोधिसत्वहरुले गर्ने काम हो । म त मानिस हु । मेरो त परिवार छ । त्यसैले बोधिसत्वको यो जीवनशैली अपनाउन सक्दिन भन्ने पनि सोच्नुभएको होला तर यो बोधिचित्तको अबधारणा तपाई हामी जस्तैको लागीनै हो । यसले हाम्रो जीवन शैली परिपर्तनमा ठुलो सहयोग गर्दछ । यस्तै धेरै मानिसहरुले के पनि भनेको सुनेको छु भने लोभ नगरे जीवन चल्दैन । छोराछोरी पाल्न वा जीवन चलाउन पनि लोभ त गर्नै पर्छ नी भन्ने पनि सुनेको छु । यही कुरालाई बोधिचित्तले कसरी सोच्न सकिन्छ भने मेरो जीवन चलाउन म आफुले आफुलाई सहयोग गर्छु भने छोराछोरीलाई पनि राम्रो शिक्षा दिनको लागी सहयोग गर्दछु भन्ने भाव मनमा ल्याएमा आफ्नो दायीत्व पनि पुरा हुन्छ भने बोधिचित्तको पनि अभ्यास भइरहेको हुन्छ । यसरीनै जीवनको हरेक कामलाई बोधिचित्तसंग जोडेर कर्म गर्न सकिन्छ ।

बोधिचर्यालाई जति धेरै अभ्यास गर्यो त्यति धेरै जीवनमा लागु गर्न सकिन्छ । एकचोटि सुनेर मात्र त जानकार हुन्छ र केहिसमयपछि हराएर जान्छ । अध्ययनहरुले के देखाएको छ भने कुनै पनि कुरा दोहोर्याएर २१ दिनसम्म गरेमा मात्र बानी बन्छ भने ९० दिन भन्दा बढी गरेपछि चाही जीवनशैली बन्छ । यसैगरि बोधिचित्तलाई पनि हामीले दोहार्याएर अभ्यास गरेमा हामीले जीवनशैलीमा परिवर्तन गर्न सकिन्छ र सुखको अनुभव गर्न सकिन्छ।

तिब्बती बौद्ध गोन्पाहरुमा लामाहरुले ग्रन्थ र शास्त्रहरु पढिरहेको बेलामा वा पढ्ने बेला तलका दुइ प्रथना उच्चारण गर्छन । यसलाई नेपालीमा चतुरब्रम्ह बिहार र पुण्यपरिणामणा भनिन्छ तिब्बती भाषामा छेमेशी र ङोवामोल्लाम भनिन्छ । यहा मैले त्यही प्राथनाको तिब्बती र नेपाली अनुबादलाई यहा राखेको छु ।

སེམས་ཅན་ཐམས་ཅད་བདེ་བ་དང་བདེ་བའི་རྒྱུ་དང་ལྡན་པར་གྱུར་ཅིག །
སེམས་ཅན་ཐམས་ཅད་སྡུག་བསྔལ་དང་སྡུག་བསྔལ་གྱི་རྒྱུ་དང་བྲལ་བར་གྱུར་ཅིག །
སེམས་ཅན་ཐམས་ཅད་སྡུག་བསྔལ་མེད་པའི་བདེ་བ་དམ་པ་དང་མི་འབྲལ་བར་གྱུར་ཅིག །
སེམས་ཅན་ཐམས་ཅད་ཉེ་རིང་ཆགས་སྡང་གཉིས་དང་བྲལ་བའི་བཏང་སྙོམས་ཆེན་པོ་ལ་གནས་པར་གྱུར་ཅིག །

(सबै सत्व युत्त हाउन, सुखले, सुखको हेतुले,
मुक्त होउन, सधै दुःखबाट औ दुःखहेतुले,
कदापि बञ्चित नहुन, दुःखहिन महासुखले
टाढा नजिकमा द्धेष राग, मुक्त, तटस्थ होउन ।
त्यस्तै ङोवामोल्लामको नेपाली अनुबाद यस प्रकार रहेको छ ।)

བསོད་ནམས་འདྱི་ཡྱིས་ཐམས་ཅད་གཟྱིགས་པ་ཉྱིད།
ཐོབ་ནས་ཉེས་པའྱི་དག་རྣམས་ཕམ་བྱེས་ནས།།
སྐྱེ་རྒ་ན་འཆྱི་རྦ་བརླབས་འཁྲུགས་པ་ཡྱི།།
སྱིད་པའྱི་མཚོ་ལས་འགོ་བ་གོལ་བར་ཤོག།

(यो पुण्यले गर्दा सर्बज्ञता प्राप्ति गरेर, दोषरुपी शत्रुहरुलाई जितेर बुढयाई, रोग, मृत्यु जस्ता ठुला तरंगहरुले ब्यकुल भएको भवसागरबाट जगतलाई उद्धार गरु ।)

माथीको यी हरफहरुले सबै प्राणीहरुलाई दुःख नहोस र जगतका मानिस र प्राणीहरुले सुख पाउन भन्ने भाव दिन्छ। दोस्रो प्राथनाले मैले गरेको पुण्य कामले सबैको भलो होस भन्ने अर्थ दिन्छ। बोधिचित्त अभ्यास गर्ने मानिसले बारम्बार यस्तो भावना मनमा ल्यउनु पर्दछ। अन्यथा मन नजाहिदो कुरामा डुल्दछ र अरुलाई दुःख दिने भावलाई मनले समात्दछ। जसको परिणाम स्वरुप आफु र अरुलाई दुःख दिने कर्म गर्न पुगिन्छ । आफु चाहि सुख चाहाने तर अरुलाई चाही दुःख दिने भन्ने कुरा त काहीपनि मेल खादैन। बोधिचित्त अभ्यासिहरुको निमित्त त बिपरित बिपरित अभ्यास हुन जान्छ। त्यसैले बोधिचित्तलाई सधै ग्रहण गर्नु पर्दछ।

आफ्नो स्वार्थको लागी अरुलाई दुःख दिनु बोधिचित्त बिपरित हुन्छ। लोभको वसमा परेर कर्म गर्नु भन्दा पनि म आफुले आफुलाई र समस्त सत्वलाई सहयोग गर्छु भन्ने भावले कुनै पनि काम गर्दा त्यसबाट पाउने खुसीमा आकाश पातालको फरक अनुभव हुने गर्दछ। यसको मतलव तपाईले आफुले गर्ने कुनै पनि कामलाई बोधिचित्तसंग जोड्न सक्नुहुनेछ । आफुले गरेको कुनै पनि काम आफु र सबैको हितको लागी समर्पण गरेमा तपाई भित्र भएको त्यो बोधिचित्तले सार्थकता पाउने छ।

उदाहरणको लागी हम्रो शरिरमा हजारौको संख्यामा साना भाइरसहरु रहेको छ भन्ने भनाइ रहेको पाइन्छ । यी भाइरसहरुले अधिकतम रुपमा हाम्रो अमुल्य मानव जीवन र हाम्रो शरिर स्वास्थ्य राख्नको लागि सहयोग गरिरहेको हुन्छ । यीनिहरुलेनै हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमताको बिकाशमा सहयोग गरिरहेको हुन्छ । यी भाइरसहरुलाई पनि नकरात्मक कुराले असर गर्दछ जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुदै जान्छ । यहा पनि तपाईले बोधिचित्तको अभ्यास गर्न सक्नु हुन्छ । तपाईले खाएको खानेकुराहरुले ति हजारौ भाइरसहरुलाई बचाइरहनु भएको छ । सहयोग गरि रहनु भएको छ । बोधिचित्तको अभ्यास जुन अबस्थामा पनि गर्न सकिन्छ भन्ने यो त एक उदाहरण मात्र हो ।

धेरै मानिसको मनमा धनि बन्ने सपना हुन्छ । त्यो सपना पुरा गर्न दिन रात दौड धुप गरि रहन्छन् तर यो थाहा हुदैन कि धन कमाउन पनि लोभिचित्तले हैन बोधिचित्तले मात्र सम्भव छ । चर्चित लेखक रबिन सर्मा लेख्नुहुन्छ money is the fruit of generosity, not scarcity. यसको अर्थ पनि के हुन्छ भने धनि बन्न बोधिचित्त चाहिन्छ, नकि लोभिचित्त ।

बोधिचित्त जुनसुकै अबस्थामा पनि अभ्यास गर्न सकिन्छ । ब्यापारि बर्गका मानिसहरु लोभ नगरि कहा हुन्छ भन्ने पनि सुनिन्छ । अरुलाई दुःख दिएर वा नापतौलमा तलमाथि गरेर वा बदनियतले ब्यापसाय गर्नुहुन्छ भने त्यो बोधिचित्त नभई लोभी चिक्तको अभ्यास हुन जान्छ । संयक तरिकाले धनसम्पति कमाउदा त बोधिचित्तको अभ्यास पनि भई रहेको हुन्छ । तपाईसंग जतिधेरै संयक तरिकाले कमाएको धनसम्पती छ त्यति धेरै मानिसहरुलाई सहयोग गर्न सक्नु हुन्छ । ब्यापार ब्याबसाय मात्र हैन राजनिति, पेशा सबैमा बोधिचित्तको अभ्यास गर्न सकिन्छ ।

बोधिचित्तको अभ्यास मानिसभित्र सुख र आनन्दको अनुभुति हुन्छ । यसको साथै शारिरीक रुपमा स्वस्थ हुन्छ भने मानसिक स्वास्थमा धेरै राम्रो प्रभाव पार्दछ । उनिहरुमा जहिलेपनि उज्यालो अनुहार, जोसिलो, खुसि बनाइ राख्दछ । यदि बोधिचित्तको यी गुण तपाईलाई बिश्वास लागेन भने तपाईले केहि हप्तामात्र ग्रहण गरेर हेर्नुहोस, यदि तपाईले यसको परिणाममा फरक पाउनुभयो भने मात्र ग्रहण गर्नु नत्र ब्यक टु मङगलमान ।

बौद्ध धर्म मान्नेहरुले त बोधिचित्तको अभ्यासमा लाग्नु उसको कर्तब्यनै हुन जान्छ । नराम्रो काम लोभि चित्तबाट हुन जान्छ भने र राम्रो काम गरे बोधिचित्त जाग्ने हुन्छ । लोभी चित्तले कमाएको सम्पती, नाम तथा इज्जतले मानिसमा घमण्ड बढाउने हुन्छ जसले कालन्तरमा दुःखतिरनै लैजान्छ । त्यसैले बौद्ध जगतमा एक उपदेश चर्चित रहेको छ। यो उपदेश डाक्पा ग्याल्जेनले आर्य मन्जुयश्रीको सहायतामा बताउनुभएको उपदेश हो ।

जीवनमा आसक्ति छ भने तिमी धार्मिक होइनौ ।
भवचक्रमा आशक्ति छ भने तिमीमा त्याग छैन ।
स्वार्थमा आसक्ति छ भने तिम्रो बोधिचित्त छैन ।
ग्राह उत्पन्न भएको छ भने तिमीमा सम्यक दृष्टी छैन ।

त्यसैले अष्टलौकिक धर्महरु दुःख र सुख, यस र अपयस, लाभ र अलाभ, निन्दा र प्रशंसाभन्दा माथि उठेर जीवनलाई बुझ्ने र बोधिचित्तको अभ्यास गरेमा पक्कै पनि हाम्रो जीवनशैलीमा परिवर्तन गर्न सकिन्छ भन्ने कुरा बोधिचित्तको शिक्षा रहेको छ । बेधिचित्त को अभ्यास गरेमा यस लोकमा आफु र अरुलाई पनि खुसी राख्न सकिन्छ । राम्रो काम गरेमा मृत्युको क्षणमा पनि राम्रो कामको याद आउछ र थोरै मात्र नराम्रो काम गरेको भएपनि मृत्युको क्षणमा त्यही नराम्रो कामको याद आउछ जसले गर्दा पश्चतापले मृत्युलाई सहज बनाउदैन भन्ने कुराहरु बौद्ध ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । त्यसैले बोधिचित्तको अभ्यासे यो जीवनका साथै मृत्युको क्षणमा पनि शान्तिपुर्ण हुन पुग्छ । यसका साथै मृत्युपश्चातको जीवन राम्रो लोकमा जन्म हुनुको साथै बुद्ध बन्ने मार्ग अझ फराकिलो हुन्छ भन्ने बिश्वास रहेको पाइन्छ ।

लोभहरु त्याग्ने, प्राणीहरुको हितमा लाग्ने र हर तरहबाट प्राणीहरुलाई हिशां गर्नबाट बच्नसकु भन्ने बोधिसत्वले संकल्प गर्छन । यस्तो संकल्पले तपाई हामीले पनि लौकिक रुपमानै बोधिचित्तको अभ्यास गर्न सकिन्छ भन्ने यस लेखको आसय हो। हाम्रो हाल भई रहेको जीवन सैलीलाई परिवर्तन गरेपछिमात्र नया जीवनसैलीको सुरुबात हुन्छ । यदि अहिलेको जीवनसैली वा अहिलेको मनको अवस्थानै ठिक छ भन्ने हो भने त के नै भन्नु छ र तर अहिलेको भन्दा धेरै माथिल्लो स्तरको सोच राख्ने हो भने चाहि बोधिचित्त एक महत्वपुर्ण जीवनशैली हो ।

नोटः छेमेशी र ङोवामोल्लामको नेपाली अनुबाद श्री नारायण प्रसाद रिजालले लेख्नुभएको प्रथना पुस्तिकाबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार