सगरमाथा जाने बाटो पाईलाको डोबको भरमा [फोटो फिचर]

0 Shares

बुद्धवीर बाहिङ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुंगा विछ्याईएको, अझ समाएर हिड्नका लागि ठाउँ–ठाउँमा फलामको रेलिङ, अनि संकेत चिन्ह (Arrow Board) ?’ विश्वका अधिकांश पर्यटक तथा नेपालका प्रायः मानिसहरुले यस्तै सोच्ने गर्दछन् ? तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचे भन्ने स्थानदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यसक्षेत्रमा पर्यटकका लागि समेत संकेत चिन्हको व्यवस्था छैन । संकेत चिन्हको अभावमा कयौं पर्यटक बाटो विराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव सुनाउछन् ।
Sagarmatha-Jane-Bato-2.
वर्षेणी हजारौंको संख्यामा संसारभरका पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले एक रुपैयाँ पनि खर्च नगरेको आधारशिवीर नजिकै बस्ती गोरप्सेपका पेम्बा शेर्पाले बताए । ‘पदयात्रीहरु हिड्दाहिड्दै बनेका बाटो मात्र हुन् अरु कसैले हालसम्म बनाएका छैनन्’ शेर्पाले भने । ढुङ्गा माथि टेक्दै हिड्नु परेकाले एक सिजनका लागि प्रयोग हुने बाटो अर्को सिजनका लागि पत्ता लगाउन समेत नसकिने शेर्पाले बताए । ‘बाटो नै भनेर एकै ठाउँबाट हिड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीबाट हिड्छन्’ उनले भने ।
Sagarmatha-Jane-Bato-3.
विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङहुदै आईस्ल्याड पिक जाने बाटो, यस्तै लबुचे हुदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ । झनै चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ । ‘चोला पास जाने बाटो त अनुभवी क्लाईमिङ शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन’ जोङ्लाका आङनुरु शेर्पाले भने ।
Sagarmatha-Jane-Bato-4.
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेमा रहेको अभिलेख अनुसार सन् २०११ मा अहिलेसम्मकै सबैभन्दा ३४ हजार ५ सय ७१ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । यो संख्या ट्रेकिङ गर्ने विदेशी पर्यटकको मात्र भएको र आरोही र नेपाली सहित करीब एक लाख मानिस वर्षेणी यसक्षेत्रमा आउने गरेको निकुञ्जका कर्मचारीले बताए ।
Sagarmatha-Jane-Bato-5.
यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौंले बाटो भुल्ने गरेको र झनै हिउँ परेको बखत सबैभाग सम्म जस्तै देखिने हुँदा लडेर अंगभंग समेत हुने गरेको आईसफल ट्रेक्स् एण्ड एक्स्पिडीसन्का आरोही सोनाम शेर्पाले बताए । ‘पर्यटकहरु हिड्ने एउटै बाटो भए बाटो भुल्ने सम्भावना पनि हुने थिएन, कसैलाई सोधेर हिड्नुपर्ने पनि थिएन’ शेर्पाले सगरमाथा जाने बाटोको आवश्यकताबारे औल्याए ।
Sagarmatha-Jane-Bato-6.
सगरमाथाको आरोहण शुल्क बापत उठाएको रकमको १ प्रतिशत मात्र खर्च गर्ने हो भने पनि सगरमाथा जाने बाटो निर्माणका लागि रकम पर्याप्त हुने खुम्बु रक क्लाईमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताए । सगरमाथाको रोयल्टी बापतको रकम राज्यले उठाएर नेता पोस्ने काम मात्र गरेको शेर्पाले आरोप लगाए । ‘सगरमाथाको रोयल्टी उठाएर सगरमाथा जाने बाटो समेत निर्माण नगरेर यसक्षेत्रलाई राज्यले अन्याय गरेको छ’ शेर्पाले भने । सगरमाथा आरोहण शुल्कबाट मात्र राज्यले वर्षेणी ३० करोड भन्दा बढी राजश्व संकलन गर्दै आएको छ । वसन्त ऋतुको पहिलो दुई महिना मात्र राज्यले सगरमाथाको आरोहण शुल्ककबाट २६ करोड २९ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गर्ने गरेको स्थानीय पर्यटन व्यवसायीको भनाई छ ।
Sagarmatha-Jane-Bato-Photo-
सगरमाथाको कुल रोयल्टीको बापतको रकम तीस प्रतिशत मात्र जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको स्थानीय लाफुटी शेर्पाले बताईन् । राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर पनि विकास निर्माणका लागि चासो नदिँदा स्थानीय विकास निर्माणको काम गर्न समेत विदेशीलाई भिख माग्नु परेको शेर्पाले गुनासो गरिन् । स्थानीय स्वयत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहण बापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने ३५ करोड रकम जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि खुम्बु क्षेत्रको पर्यटन विकासमा खर्च हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार