३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु



सिमकोट । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका-५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो ।

टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो । शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ । जुम्लाको चन्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइती पक्षले टीकाको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै राखिएको छ ।

Sagarmatha

माइती पक्षले के–कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो भनी जानकारी नहुँदासम्म शव उठाउन नदिने बताएपछि टीकाको परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ३ : १९ बजे