२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मुक्तकमैया शिविरमा भीषण आगलागी, दर्जन बढी घर जलेर नष्ट


११ बैशाख २०७९, आइतबार  

0
Shares

धनगढी । कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए ।

उनका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।

करिब ८० वटा घर रहेको उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको सीमा प्रहरी चौकी रामपुरका असई जनक धानुकले बताए ।

‘शिविरमा जम्मा ८० घर हुन आगो नियन्त्रणमा आइनसकेका कारण के–कति घर जले भन्ने यकिन हुन सकेको छैन,’ धानुकले भने, ‘अहिले आगो निभाउने प्रयास भइरहेको छ तर हावाहुरी चलेकाले समस्या छ ।’

 

उनले आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने बताउँदै शिविरका मान्छेहरु तितरवितर भएकाले मानवीय क्षतिबारे समेत यकिन जानकारी हुन नसकेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : १० बजे