२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

२५औँ अन्तर्राष्ट्रिय ब्याले नृत्य महोत्सव सुरु


१५ कार्तिक २०७३, सोमबार  

0
Shares

हवाना, १५ कात्तिक । क्युबामा वर्षेनी मनाइंदै आएको अन्तर्राष्ट्रिय ब्यालेनृत्य महोत्सव हवानामा सुरु भएको छ । यस वर्ष मनाइने २५ औं अन्तर्राष्ट्रिय ब्यालेनृत्य महोत्सवमा संयुक्त राज्य अमेरिकासहित १६ मुलुकका नृत्यटोलीहरुले भाग लिएका छन् ।

क्युबामा ख्याति आर्जन गर्न सफल प्रथम ब्याले नर्तकी एलिसिया अलोन्सोलाई सम्मान गर्दै यस वर्षको नृत्य महोत्सव उनकै नाममा समर्पण गरिएको छ । ९४ वर्षिया एलिसिया ब्याले नृत्य विधातर्फकी विश्वबिख्यात नर्तकी हुन् ।

उनी क्युबाको “नेशनल ब्याले अफ क्युबा (बिएनसि)” नामक संस्थाको संस्थापिका पनि हुन् । आधा शताव्दिभन्दा बढी समयसम्म ब्यालेनृत्यमा समर्पित यिनै एलिसियालाई यस समारोहको सम्मानित प्रमुख अतिथि बनाइएको छ ।

महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्युबाली महिला महासंघकी महासचिव तथा क्युबाली कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्या टेरेसा अमारिल्लोले बिएनसिप्रति एलिसियाको देन र समर्पणको चर्चा र प्रशंसा गरिन् ।

Sagarmatha

नृत्य महोत्सवमा भाग लिने १६ वटै मुलुकका प्रतिनिधि नृत्यटोलीहरुले आगामी ६ नोभेम्बरसम्म आ–आफ्ना नृत्यकला तथा प्रतिभा प्रस्तुत गर्नेछन् ।

विश्वमा नाम चर्चित बिभिन्न मुलुकका बिख्यात सङगीत तथा नृत्य प्रतिष्ठानहरु – संयुक्त राज्य अमेरिकाका मार्था ग्राहम डान्स कम्पनी, द वासिङगटन ब्याले, द न्युयोर्क सिटी ब्याले, ब्याले हिस्प्यानिको अफ न्युयोर्क, क्यानाडाको ले ग्रँ ब्याले क्यानेडियन्स डे मन्ट्रियल, बेलायतको द ब्रिटिस नदर्न ब्याले, नेदरल्याण्ड को द डच नेसनल ब्याले अफ हल्याण्ड तथा उरुग्वेको द नेसनल ब्याले अफ उरुग्वेका कलाकारहरुले एकल (सोलो), जोडी वा समूहमा ब्यालेनृत्यकला र ब्याले सङगीतकला पस्कने सूचीमा परेका छन् ।

त्यस्तै, नृत्यकला रसङगीतकला प्रस्तुत गर्ने अन्य समूह तथा कलाकारहरुमा रसियाली नृत्य शिक्षक तथा पूर्वनर्तक अजारी प्लिसेत्स्की, पेरिस ओपेरा ब्यालेका विख्यात नृत्य तथा कला निर्देशक ओरेलि दुप्वाँ लगायत अन्य नृत्य विशेषज्ञहरु समेतले विशेष अतिथिका रुपमा समारोहमा सहभागी भएका छन् ।

नृत्य तथा सङगीतक्षेत्रमा ब्यालेनृत्यविधा आफ्नै विशेषता सहितको विश्वकै एउटा प्राचीन र रोचक नृत्य मानिएको छ । क्युबामा सन् १९५९ मा भएको क्युबाली क्रान्ति पश्चात् यस्तो नृत्य महोत्सब सन् १९६० देखि नै वर्षेनी मनाइँदै आएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १५ कार्तिक २०७३, सोमबार  १ : ४२ बजे