२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

निर्वाचन अभियानमा क्लिन्टनले प्रतिष्ठित व्यक्तिहरु परिचालन गरिन्



क्लिभ्ल्यान्ड (ओहायो), २० कार्तिक । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदानको मिति आउनु तीन,चार दिनपूर्व हिलारी क्लिन्टनले गायन, सङ्गीत र राजनीतिक क्षेत्रमा समाजमा प्रतिष्ठा आर्जन गर्न सफल व्यक्तिहरु (सेलिब्रिटिज) लाई आफ्नो प्रचारप्रसार अभियानमा परिचालन गरेकी छिन् ।

निर्वाचन प्रतिस्पर्धा पारो चढी अत्यन्त कडा भैरहेका बखत “निर्वाचनयुद्धभूमि” मानिने राज्यहरुमा डेमोक्र्याटहरुलाई नवीन उर्जा प्रदान गर्ने र आत्मवल बढाउने प्रयास स्वरुप सेलिब्रिटिजलाई पनि अभियानमा साथ लिइएको बताइएको छ ।

क्लिभ्ल्यान्डको वोल्सटिएन सेन्टरमा आयोजित वृहत् एक दिने साङ्गितिक कार्यक्रमलाई गएराति समापन गर्दै हिलारीले अमेरिकाकी प्रख्यात गायिका बियोन्स र उनका पति जे जेड तथा सो सङ्गीत ब्यान्डका अन्य कलाकारसँगै बसेर बियोन्स जोडी र कार्यक्रमको प्रशंसा गर्दै फोटो खिचाइन् ।

अमेरिकामा सर्वत्र प्रचलित र लोकप्रिय ¥यापर सङ्गीत र गायनकला प्रस्तुत गरिएको सो कार्यक्रममा उपस्थित हजारौं ¥यापर सङ्गीतप्रेमी सबैसँग भोट माग्दै अरुसँग पनि आफ्नो पक्षमा मत मागिदिन हिलारीले आग्रह गरिन् ।

एकातिर साङ्गितिक कार्यक्रममा हजारौं जनतामाझ मस्तसँग झुल्दै हिलारीले मत मागिरहेकी थिइन् भने अर्कोतिर ट्रम्पले भने आफ्नै किसिमको “एक्लै अघि बढ्ने” (गो–इट–एलोन्) अभियान शैलीको त्याग गरेका छैनन् ।

“भोट माग्न मलाई चलचित्रकर्मी वा कलाकारहरु अघिलगाउनु पर्दैन, मैले कोही जे–लो वा जे–जेड ब्यान्डलाई बोलाइ रहनु पर्दैन, न गितार, न पियानो, केही पनि चाहिँदैन, निर्वाचन अभियानमा म स्वयंको उपस्थिति नै पर्याप्त छ” गएराति पेन्सिल्भानिया राज्यको हर्सेमा आयोजित आफ्ना समर्थकहरुको एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले बताए ।

पूर्वमा कनेक्टिकट र न्युयोर्कदेखि पश्चिममा वासिङ्गटन र क्यालिफोर्नियासम्म, उत्तरमा माइनसोटा र नर्थ डकोटादेखि दक्षिणमा लुजियाना र टेक्साससम्म, सुदूर पूर्वको हवाई र सुदूर पश्चिमको अलास्कासम्म फैलिएको विशाल अमेरिकाको ५० वटै राज्यहरुमा यसपटकको राष्ट्रपतीय निर्वाचनको संघारमा अचम्मसँग, यतिखेर चुनावी सरगर्मी बढेर चरमचुलीमा पुगेको बताइन्छ ।

अत्यन्त कडा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार ट्रम्प र हिलारी प्रचारप्रसार अभियानको क्रममा यस शनिवार दुबैजना आ–आफ्नो कार्यक्रम प्रस्तुत गर्न फ्लोरिडा जानेछन् ।

फ्लोरिडाको प्रान्तीय राजधानी महानगर मियामीवरपर ल्याटिनो जनसंख्याको बाहुल्य छ । अधिकांश ल्याटिनोहरु पहिलादेखि नै डेमोक्र्याटिक पार्टीसमर्थक हुन् ।

त्यसैगरी, न्युह्याम्पसायर र ओहायो राज्यहरुमा डेमोक्र्याटिक पार्टीलाई रहँदै आएको जनसमर्थन केही खस्किई ट्रम्पपट्टि ढल्केको जस्तो लागेकाले त्यहाँ जनसमर्थनमा व्यापक वृद्धि गराउने थप प्रयास गरिने क्लिन्टनको निर्वाचन अभियन्ताहरु बताउँछन् । रासस÷एपी

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार  १ : ५७ बजे