७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

पत्रकारको दबाबपछि मुख्यमन्त्री छलफल गर्न तयार



विराटनगर । पत्रकार महासंघको कडा विरोधपछि कोशी प्रदेश सरकारले ‘आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ विषयमा थप छलफल गर्ने तयारी गरेको छ।

मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै संविधानविपरीतका प्रावधान हटाउन माग गरेको थियो।

ज्ञापनपत्र बुझिसकेपछि मुख्यमन्त्री कार्कीले संसदसम्म पुगेको विधेयक केवल सरकारको नभई सम्पूर्ण दल र सरोकारवालासँग सम्बन्धित विषय भएको उल्लेख गर्दै, सबै पक्षसँग छलफल गरेर मात्र अघि बढ्ने आश्वासन दिए।

उनका अनुसार पत्रकार र सरोकारवाला संस्थाहरूले उठाएका असहमतिको विषयलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत समाधान खोजिने छ। “विधेयक पारित हुन अझ केही समय लाग्छ, तर छलफलमार्फत स्वीकार्य समाधान निकालिन्छ,” मुख्यमन्त्रीले स्पष्ट पारे।

पत्रकार महासंघले भने विवादास्पद प्रावधानहरू कायम रहँदा आन्दोलनलाई थप तीव्र पार्ने चेतावनी दिँदै आएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : १५ बजे