कास्की । संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनका अवसरमा धौलागिरि आरोहण दिवस मनाइँदैछ । यही वैशाख ३० गते बुधबार धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको ६६ वर्ष पूरा हुँदैछ ।
सन् १९६० मे १३ मा स्विस-अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे १३ तारिखमा धौलागिरि आरोहण दिवस मनाउने गरिएको छ ।
यस वर्ष पनि विविध कार्यक्रमसहित उक्त दिवस मनाउने तयारी भइरहेको ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल -टान) गण्डकीले जनाएको छ । गत वर्ष पोखरामा धौलागिरि पदयात्रा, समस्या, चुनौती र समाधानÚ विषयक अन्तक्र्रियासहित सो दिवस मनाइएकामा यसपटक धवलागिरि हिमालको काख म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदी गाउँमा यो दिवस मनाइने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ६६औँ धौलागिरि आरोहण दिवससहित धौलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवद्र्धन कार्यक्रम एकैसाथ गर्दैछौँ, उनले भने, दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गरिनेछ ।

टान गण्डकीको आयोजना, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र धौलागिरि गाउँपालिकाको समन्वयमा उक्त दिवस मनाउन लागिएको आचार्यले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालको प्रमुख आतिथ्यता रहने जनाइएको छ । ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्ने पहिलो आरोहण दलमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा सम्मिलित रहेका थिए । धौलागिरि हिमालमा पहिलोपटक गरिएको आरोहणलाई नेपालको पर्वतारोणको इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने गरिएको टान गण्डकीका अध्यक्ष आचार्यले बताए ।
हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि क्षेत्रलाई विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ । पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि धौलागिरि क्षेत्र पर्यटन पूर्वाधार र प्रचारप्रसार अभावमा पछाडि परेको छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग नासिँदै र छोटिँदै गएका बेला धौलागिरि चक्रीय पदमार्ग त्यसको विकल्प बन्न सक्ने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । धौलागिरि हिमाल साहसिक पर्वतारोहीको आकर्षणमा पर्ने गरेको छ ।
नेपालका अन्य हिमालको भन्दा फरक आरोहण अनुभव हुने आरोहीहरूको भनाइ छ । यहाँको भू-बनोट र हावापानीका कारण धौलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त मानिन्छ । टान गण्डकीका अध्यक्ष आचार्यले गण्डकी प्रदेशमा पर्ने आठ हजार मिटरमाथिका धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल आरोहण दिवसमा पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम गर्दै आइएको बताए ।







