म्यानमारमा जातीय विद्रोहीसँग शान्तिवार्ता सुरु

0 Shares

नेपित, १५ भदौ । म्यानमारमा यहाँ दशकौँदेखि विद्रोह गरिरहको जातीय विद्रोहीसँग सरकारले बुधबार शान्तिवार्ता सुरु गरेको छ ।

नेपितमा रहेको एक परम्पारगत सांस्कृतिक हलमा विद्रोही र सरकारी पक्षका वार्ता टोलीका सदस्यहरु जम्मा भएका छन् ।

विद्रोहीहरु आफ्नो परम्परागत पोशाकमा वार्तास्थलमा प्रवेश गरेका छन् र उनीहरुले वार्ताको सफलताको अपेक्षा गरेको कुरा उनीहरुको हसिलो मुहारबाट पनि केही खुल्ने सञ्चारमाध्यमले जनाएका छन् ।

यो वार्ताका लागि पछिल्लो समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले निकै प्रयास गर्नुभएको थियो ।
सो प्रयासस्वरुप बुधबारबाट वार्ता नै सुरु भएको छ । आङ सान सुकी म्यानमारको राज्य सल्लाहकार र विदेशमन्त्रीमा नियुक्त भएपछि उहाँले जातीय विद्रोही समूहसँग वार्ताका लागि आह्वान गर्नुभएको थियो ।

यस वार्ताको सुरुवातको दिन राष्ट्रियस्तरको सम्मेलनको आयोजना गरिएको छ । बुधबारको यस सम्मेलनमा विभिन्न जातीय विद्रोही समूहहरुका प्रतिनिधिहरु रहेका छन् ।

उनीहरु आआफ्नो जातीको परम्परागत पोशाकमा उक्त सम्मेलन हलमा प्रवेश गर्दा सरकारी अधिकारीहरुले नै उनीहरुलाई सम्बोधन गरेका थिए ।

बुधबारको यस सम्मेलनको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मनुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको म्यानमार सरकारले जनाएको छ ।

उहाँले सो सम्मेलनको सम्बोधन गर्दै म्यानमारमा दशकौँदेखि जारी रहेको हिंसाको अन्त्यका लागि शुभकामना व्यक्त गर्नुहुने जनाइएको छ ।

पहिलो चरणमा यो वार्ता पाँच दिनसम्म चल्ने बताइएको छ । यसका लागि स्थानीय रुपमा युद्धविराम पनि भएका छन् ।

तर यस वार्ताको पूर्व सन्ध्यामा भने म्यानमारको उत्तरी केही भूभागहरुमा छिटपुट आक्रमणका घटना भएका छन् ।
तर युद्धविराम दिगो रुपमा गरेर यसै वार्तालाई दिगो शान्ति वार्ताका रुपमा लान म्यानमारको सरकार र विशेषता नेत्री सुकीले सक्दो प्रयास गर्नुभएको बताइएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार