२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

ट्रेक टु देम्बाः ३ हजार तीन सयको उचाइमा पर्यटन महोत्सव (यसरी जान सकिन्छ देम्वा फाेटाेसहित)


३ बैशाख २०७४, आइतबार  

0
Shares

ओखलढुंगा, ३ बैशाख । ओखलढुंगेलीहरु यस पटक नयाँ वर्ष ०७४ सालको पहिलो दिन ऐतिहासिक थोलेदेम्वा महोत्सवमा राष्ट्रपति, दलको शीर्ष नेताहरुसँग रमाए । अझ महोत्सव स्थल खिजीदेम्वा गाउँपालिका बासीलाई नयाँ वर्ष मनाउने अन्य कार्यक्रम तय गर्नै परेन । महोत्सवको साँस्कृतिक कार्यक्रममा लगातार तिन दिनसम्म रोज मोक्तान, इन्द्र गुरुङ लगायतका दर्जन बढी राष्ट्रिय कलाकारहरुले उनीहरुलाई नचाए । यसका अतिरिक्त आकर्षणको मुख्य केन्द्र पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, नेता तथा सांसदहरु र प्याराग्लाइडिङ रह्यो ।
नेपालका सात उच्च स्थानमध्ये एक देम्वाडाँडामा आयोजित महोत्सवमा राष्ट्रपति, उच्चपदस्थ अधिकारीहरु सहभागी भए । यससँगै यहाँको विकास लागि पहल गर्ने सबैले प्रतिबद्धता जनाएका छन् । साँसद यज्ञराज सुनुवारको सहयोगमा खानेपानी र विद्याुत जडान भएको छ । यसको दिर्घकालीन विकासका लागि लिफ्टिङ प्रविधिीबाट पानी जोड्ने प्रयास भइरहेको महोत्सव आयोजक समितिका आर्थिक संयोजक तेञ्जी शेर्पाले बताए ।
महोत्सव उद्घाटन सँगै देम्वाबाट अर्ध चन्द्राकार रुपमा देखिने हिमश्रृङ्खला दृश्यावलोकन, पूर्वको भेडेटारदेखी राजधानीको चन्द्रागिरी समेत देख्न सकिने स्थलमा भएको महोत्सवमा दुई लाख नेपाली र अन्य विदेशी पर्यटकहरु समेत सहभागी भएको आयोजकले जनाएको छ । शुक्रबार शूरु भएको आइतबार वनभोज कार्यक्रम सहित महोत्सव समापन भएको छ ।
देश दर्शनका लागि भ्यूटावर
महोत्सवकै अवसरमा देम्वामा ५० फिट उचाइको भ्यूटावर शिलान्याश भएको छ । भ्यूटावरबाट नेपालको आधा भूभाग र नेपालका सबैजसो हिमालहरु देख्न सकिनेभएकाले महोत्सवको अभियान नै भ्यूटावर बनाउने रहेको आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । एक वर्ष अघि तय भएको कार्यक्रम भएकाले महोत्सव उद्घाटन तथा टावर शिलान्याशमा राष्ट्रपति, साँसद तथा नेताहरुलाई सहभागी गराई देम्वालाई पर्यटन रुटको रुपमा विकास गर्न अभियान थालिएको शेर्पाको भनाइ छ । महोत्सवमा शेर्पा, सुनुवार, गुरुङ र तामाङ समुदायको जातीय झाँकी, सिंह नाच आदी प्रर्दशन गरिएको थियो ।
महोत्सवमा एक करोड बढीको कारोवार भएको अनुमान गरिएको छ । यो क्षेत्र सगरमाथा जाने वैकल्पिक पदमार्गको रुपमा परिचित भए पनि विकास नभएकाले चर्चामा थिएन ।
ट्रेक टु देम्वा
सदरमुकामबाट जन्तरधाप हुदै ६५ किलोमिटर सडक यात्रापछि सोलुखुम्बुको सिगाने, बुलबुले हुदै ताक्लुङ पुग्न सकिन्छ । त्यसपछि तीन घण्टा पैदलयात्रापछि पुग्न सकिन्छ । तीन घण्टाको पैदल यात्रामा एक दर्जनबढी हिमश्रृङ्खला देख्न सकिन्छ भने पूर्व र पश्चिमका धेरै जिल्लाका सदरमुकाम, हलेसी महादेव र सगरमाथा लाई नजिकबाट नियाल्न सकिन्छ ।
राजधानीबाट रामेछाप हुँदै रगनी खिजीफलाटेसम्मको यात्रापछि दुई घण्टा हिडेर पश्चिमी भेगबाट पनि देम्वा जान सकिन्छ । देम्वामा भ्यूटावर बनेपछि यसलाई पाँच वर्षभित्र पर्यटकीय पदमार्ग बनाउने योजना रहेको महोत्सव आयोजनाका लागि एक वर्षदेखी अभियान चलाएका साँसद यज्ञराज सुनुवारले बताए ।
पोकली झरना हुँदै देम्वा पुगेर सगरमाथा जाने पदमार्ग र देम्वाहुँदै राँगादिपको सेप्ली झरना हेरेर ओखलढुंगा–हलेसी पर्यटकीय मार्ग बनाउन सके यस देम्वाको मात्र नभइ समग्र जिल्लाको विकासमा महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ । यस क्षेत्रमा पर्यटनको विकास गर्न राष्ट्रति भण्डारीले समेत सुझाव दिए ।
सगरमाथा जाने वैकल्पिक मार्ग
पोकली झरना आउने पर्यटकहरुलाई देम्वा हुँदै सगरमाथा जाने बैकल्पिक पद मार्ग बनाउन पहल गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । पोकली झरना हेरेर सगरमाथा हेर्न देम्वा जाने र पिके हुँदै सगरमथा जाने पद मार्ग बनाउन पहल गरिने सांसद सुनुवारले बताए । उनले ओखलढुंगाको समृद्धि कृषिको आधुनिकीकरण, पर्यटन विकास र विद्युत विकास भएको बताए ।
उनले निर्वाचन लड्दा आफुुले महोत्सव गरेर पर्यटन विकास गर्ने पर्यटकीय विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।  देम्वाबाट सगरमाथा हेरेर रागादीपको सेप्ली झरना हेरेर ओखलढुंगाको स्रष्टा पार्क हुँदै हलेसी जाने पर्यटकीय मार्ग बनाइने उनले बताए । सदरमुकाममा स्रष्टा पार्क सुनुवारको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट निर्माण भइरहेको छ भने सेप्ली झरना महोत्सव अर्को बर्ष आयोजना हुने छ । यसले अाेखलढुंगालाई समृद्ध बनाउन सहयोग पुग्ने जिल्लाबासीको विश्वास छ ।

प्रकाशित मिति : ३ बैशाख २०७४, आइतबार  ९ : ५७ बजे